पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ : ईश्वर पोखरेल

'पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो ।'

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

I filed my candidacy for the post of chairman to run the party properly: Ishwor Pokharel

काठमाडौँ — एमाले नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठीक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

पोखरेलले पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक रूपमा लिन नहुने बताए । जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिस्पर्धा भएको उल्लेख गर्दै यसलाई अस्वभाविक रूपमा लिन नहुने उनको भनाइ छ । 

यस्तो छ पोखरेलको भनाइ 

पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धाको कुरा स्वभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले जनताको बहुदलीय जनवादद्वारा निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक रूपमा लिनु हुँदैन । दोस्रो कुरा, उम्मेदवारी किन त भन्दा थप राम्रो गर्नको लागि हो । यसमा अरु केही कुरा नै भएन ।

मचाहिँ पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत, विधि र पद्धतिअन्तर्गत ठीक ढंगले चलाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको हुँ । म महाधिवेशनका प्रतिनिधि भएर आउनुभएका कार्यकर्ता साथीहरूलाई पार्टीलाई पुनर्व्यवस्थित, सांगठनिक, वैचारिक रूपमा पुनर्व्यवस्थित र नेतृत्वलाई अपडेटेड गर्नुपर्ने आवश्यकता रहेको कुरा आग्रह गर्न चाहन्छु । 

कान्तिपुर संवाददाता

Link copied successfully