उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनको शोकमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो । बैठकले मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेता उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार ९१ वर्षको उमेरमा निधन भएको थियो ।
उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।
२०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित उपाध्याय २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थियो । २०५६ मा उनी शिक्षा तथा खेलकुदमन्त्री थिए भने २०६२/०६३ को जनआन्दोलनपश्चात् पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य रहे । २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट उनी निर्वाचित भएका थिए ।
शालिन र बौद्धिक व्यक्तित्वका रूपमा पार्टीमा परिचित उपाध्यायले २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । राजनीतिक सङ्घर्षका क्रममा पटक–पटक पक्राउ परी जेल बसेका उपाध्यायले निर्वासित जीवनसमेत बिताएका थिए । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनासमेत प्रकाशित भएका छन् ।
