समानुपातिक समावेशी समूहको जनसंख्या १० वर्षमा सामान्य परिवर्तन

समावेशी समूहको जनसंख्याका आधारमा बन्दसूची हुनुपर्ने कानुनी व्यवस्था छ। २०७८ को जनगणना प्रतिवेदन प्रकाशित भइसकेकाले पुरानै जनसंख्या प्रतिशत मानेर जाँदा निर्वाचन प्रक्रियाले कानुनी चुनौती सामना गर्नुपर्ने सम्भावना हुन्छ।

मंसिर २८, २०८२

राजेश मिश्र

Population of proportional inclusion group changes over 10 years

काठमाडौँ — २०७८ को जनगणनाअनुसार समावेशी सिद्धान्तबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची तयार गर्न विद्यमान कानुनमा संशोधन आवश्यक देखिएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन १३ र १४ पुसको समय दिएको छ । त्यसअगावै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ मा संशोधन गर्नुपर्ने भएको छ । 

दलले जनसंख्याका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिमको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा २८(५) मा समानुपातिक बन्दसूचीसम्बन्धी प्रावधान उल्लेख छ ।

ऐनको अनुसूची–१ मा २०६८ को जनगणनाअनुसार उम्मेदवारको बन्दसूचीका लागि समावेशी आधार तोकिएको छ । त्यहाँ पुरानो जनगणनाअनुसारको दलित, आदिवासी जनजाति, खास आर्य, मधेशी, थारू र मुस्लिम समुदायको जनसंख्या प्रतिशत उल्लेख छ । ऐनमा उल्लेखित समावेशी समूहको जनगणना प्रतिशतअनुसार २०७४ र २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दलहरूले बन्दसूची तयार गरेका थिए । त्यही आधारमा निर्वाचन र परिणाम घोषणा गरिएको थियो । 

२०७८ मा भएको जनगणनाको प्रतिवेदन सार्वजनिक भएको ३ वर्ष भइसक्दासम्म उक्त कानुनमा संशोधन गरिएको छैन । नयाँ जनगणनामा समावेशी समूहको जनसंख्यामा सामान्य परिवर्तन देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई नयाँ जनगणनाअनुसार बन्दसूचीमा समावेशी समूहको प्रतिनिधित्व गराउनुपर्ने स्थिति रहेको बताउँछन् । त्यसका लागि प्रतिनिधिसभा निर्वाचन ऐनको अनुसूची–१ मा रहेको समावेशी आधारलाई नयाँ जनगणनाअनुसार संशोधन गर्नुपर्ने उनले जानकारी दिए ।

 ‘समयको चाप छ । १३–१४ पुसमा दलहरूले बन्दसूची बुझाउनुपर्छ । त्यसअगावै एउटा निर्णयमा पुग्न आवश्यक छ,’ उनले भने, ‘यस सम्बन्धमा सरकारलाई जानकारी गराइसकिएको छ ।’ गत बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोग, गृह, कानुन मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयका अधिकारीहरूबीच छलफल भएको छ । 

Population of proportional inclusion group changes over 10 yearsनयाँ जनगणनाअनुसार प्रतिनिधिसभा निर्वाचन ऐनमा समावेशी क्लस्टरको प्रतिशत संशोधन गर्न एउटै कानुन संशोधनले नपुग्ने समेत देखिएको छ । जनगणनामा १७ नयाँ जातजाति पहिचान भएका छन् । ती जातजाति समावेशी समूहको कुन क्लस्टरमा राख्नेबारे पनि सरकारले निर्णय लिनुपर्छ । तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने सानो सानो संख्यामा नयाँ जातजातिको पहिचान भएको बताउँछन् । 

आदिवासी जनजाति प्रतिष्ठान ऐनमा आदिवासी जनजाति समूहमा ६० वटा जातजाति पर्ने उल्लेख छ । अनुसूचीमा ती जातजातिको नाम लेखिएको छ । नयाँ पहिचान भएका जातिलाई आदिवासी जनजाति समूहमा राख्न उक्त ऐनमा पनि संशोधन आवश्यक देखिन्छ । प्रवक्ता लामिछानेले नयाँ भेटिएका जातजाति, स्थानीय तथा विज्ञका भनाइका आधारमा उनीहरूलाई विभिन्न क्लस्टरमा समेटिएको बताए । 

तथ्यांक कार्यालयले सरकारलाई जातिगत जनसंख्याको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ । अब सरकारले समावेशी समूहमा वर्गीकरण गरेर कानुनमा समेट्नुपर्ने उनले उल्लेख गरे । आयोगले भने २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत खुलाएर कानुन संशोधन गरिदिनुपर्ने वा २०६८ कै जनगणनाअनुसार जाने हो भने त्यसबारे सरकारले निर्णय दिनुपर्ने भनेको छ । कानुनमा जनसंख्याका आधारमा भनेको र नयाँ जनसंख्या प्रकाशित भइसकेकाले पुरानै जनसंख्या प्रतिशत मानेर जाँदा निर्वाचन प्रक्रियाले कानुनी चुनौती सामना गर्नुपर्ने सम्भावना छ । 

आयोगका प्रवक्ता भट्टराईले जनगणनाका आधारमा समावेशी प्रतिशत तय गर्न कानुन मन्त्रालयका सहसचिव सुभाषकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको बताए । आयोगलाई दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम ६ वटा समावेशी समूहको जनसंख्या प्रतिशत चाहिएको छ । तथ्यांक कार्यालयले सबै जातजातिलाई वर्गीकरण गरेर ८ वटा समूहमा राखेको छ । त्यसलाई ६ वटा समूहमा झार्नेपर्नेछ । साथै त्यसलाई निर्वाचन ऐनमा समेट्ने गरी आवश्यक प्रतिवेदन पनि उक्त समितिले तयार गर्नेछ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully