प्रतिनिधिसभा निर्वाचन : उम्मेदवार सिफारिस गर्न जसपा नेपालको सर्कुलर

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० भित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ भित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्नेछ ।

मंसिर २८, २०८२

रासस

House of Representatives election: JSP Nepal circular to recommend candidates

What you should know

काठमाडौँ — जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । 

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० भित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ भित्र प्रदेश समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्नेछ । पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० भित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुनेगरी उम्मेदवारको नामावली पठाइसक्न मातहत समितिलाई सर्कुलर गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको सङ्घीय संसदीय बोर्डमा उम्मेदवारको नामावली पठाउन सर्कुलर जारी गरिएको हो । 

समानुपातिकतर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरूष र तीन महिला जातीय कलस्टरअनुसार समावेशी हुनेगरी प्रदेश समितिमा पुस १ भित्र पठाउने र प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी सिफारिस गरी पुस ५ भित्र केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुुझाइसक्नुपर्ने जनाइएको छ । 

'पार्टी विधानको धारा–११७ उपधारा (३) बमोजिम योग्यता पूरा गरेका कुनै पनि संगठित पार्टी सदस्यले प्रत्यक्षतर्फ वा समानुपातिकतर्फ उम्मेदवार हुन चाहेमा सोझै केन्द्रीय कार्यालय वा सङ्घीय संसदीय बोर्डमा उम्मेदवार हुन आवेदन दिन सक्नेछन्,' बस्नेतले भने, 'यसरी आएका आवेदनउपर सङ्घीय संसदीय बोर्डले सम्बन्धित जिल्ला र प्रदेश समितिसँग राय परामर्श गरी आवश्यक निर्णय लिन सक्नेछ ।' 

सङ्घीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णय बैठकको निर्णय पुस्तिकाको प्रतिलिपिसमेत संलग्न गरी पठाउनुपर्ने तथा उम्मेदवारको अन्तिम निर्णय सङ्घीय संसदीय बोर्डले नै गर्ने सो पार्टीले जनाएको छ ।

रासस

Link copied successfully