ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीले अझै आफू शक्तिशाली हुँ भन्न लाज मान्नु पर्ने अवस्था रहेको बताए ।
सुर्खेत — नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न आग्रह गरेका छन् ।
सुर्खेतमा शनिबार आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै नेता रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षा गर्नुको साटो हेलिकप्टर चढेर भागेकाले उनको पछि नलाग्न जनतालाई आग्रह गरेका हुन् । उनले भने, ‘हेलिकप्टर चढेर भाग्ने नेताको पछि नलाग्नुहोस्, राज्यको पहिलो काम जनताको सुरक्षा गर्ने हो, खै गरेको ? ।’
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीले अझै आफू शक्तिशाली हुँ भन्न लाज मान्नु पर्ने अवस्था रहेको बताए । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीलगायत नेता केही सुरक्षा निकायको घेरामा बसेका थिए ।
नेता रावलले १६ घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिस्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले देशको रक्षा गर्न, गणतन्त्र तथा लोकतन्त्र जोगाउन नेकपालाई बलियो बनाउनु पर्ने बताए । उनले युवापुस्तालाई नेकपाप्रति विश्वास गर्न आग्रह गरे । 'जनताको साथ र विश्वास पाएसँगै हाम्रो पार्टी अझ शक्तिशाली बन्दै जानेछ,' उनले भने ।
