ताप्लेजुङमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि गजेन्द्रप्रसाद तुम्याहाङ सिफारिस

सभापति शेरबहादुर देउवानिकट तुम्याहाङ हाल पार्टीका जिल्ला सभापति छन्।

मंसिर २७, २०८२

आनन्द गौतम

Gajendra Prasad Tumyahang recommended by Nepali Congress for House of Representatives membership in Taplejung

ताप्लेजुङ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस ताप्लेजुङले प्रत्यक्षतर्फ जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ तुम्याहाङको एकल नाम सिफारिस भएको हो। समानुपातिक र राष्ट्रियसभाका लागि भने १३ जनाको नाम सिफारिस भएको छ ।

नेपाल विद्यार्थी संघदेखि राजनीति प्रारम्भ गरेका तुम्याहाङ कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट हुन् । पार्टी प्रवक्ता विश्वराज नाल्बुका अनुसार मंसिर २५ गते बसेको संयुक्त बैठक र २६ गतेको जिल्ला कार्यसमितिको बैठकले तुम्याहाङको नाम सिफारिस गरेको हो ।

समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्वमन्त्री प्रताप प्रकाश हाङ्गाम र जिल्ला कार्य समितिका पूर्वसभापति केशवप्रसाद दाहाल तथा महिलामा मेरिङदेन गाउँपालिका–५ थुकिमाकी कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।

खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तिमा तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ । महिलातर्फ लिलादेवी बोखिम, मातृकादेवी प्रसाईं कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको छ । 

विघटित प्रतिनिधिसभाकी सदस्य रहेकी बोखिम र गीताकुमारी सेन्दाङले भने आफूहरूको चाहनाविपरीत सिफारिस भएको बताएका छन् । बोखिमले आफू प्रत्यक्षतर्फको उम्मेदवार हुने बताएकी छन् भने सेन्दाङले प्रतिनिधिसभामा समानुपातिकमा चाहना रहेको बताएकी छन् । पार्टी प्रवक्ता नाल्बुले भने भेलाले सर्वसम्मत निर्णय गरेको बताए। 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully