‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरि लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ,’ उनले भने ।
काठमाडौँ — एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरि लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न चाहेको बताएका छन् ।
११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरि लाग्नेहरूलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरूले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताएका हुन् ।
उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैंले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपाटी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्कसमेत गरे । पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ ।
‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरि लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ,’ उनले भने ।
उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरि संशोधन गरेको भन्दै आपत्तिसमेत जनाए ।
