सक्रिय राजनीतिबाट बिदा भए एमाले पोलिटब्युरो सदस्य राना

पारिवारिक समस्या देखाएर रानाले पार्टीको जिम्मेवारीबाट अलग भएको जनाएका छन् ।

मंसिर २६, २०८२

माधव अर्याल

UML Politburo member Rana retires from active politics

What you should know

पाल्पा — एमाले पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । शनिबारदेखि काठमाडौंमा सुरु हुने एघारौं महाधिवेशनको अघिल्लो दिन शुक्रबार सामाजिक सञ्जालमार्फत रानाले ४५ वर्ष लामो सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन् । 

१० औं महाधिवेशनपछि राना पोलिटब्युरो सदस्य थिए । राना बुटवलमा भएको एमालेको आठौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज हुँदै नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य थिए । दशौं राष्ट्रिय महाधिवेशनपछि पोलिटब्युरो सदस्य तथा भूमि व्यवस्था विभाग इञ्चार्ज थिए । राना रामपुर नगरपालिका–१, घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१०, कपन विवेकचोक काठमाडौंमा बस्दै आएका छन् । 

राना २०३५/३६ सालदेखि कम्युनिष्ट पार्टीमा समर्थक थिए । राजनीतिको सुरुवाती चरणमा पेशागत संगठन तत्कालीन पारामेडिकल एसोसिएसन (स्वास्थ्यकर्मी संघ)को पाल्पा जिल्ला नेतृत्व गरेका थिए । जातीय सामुदायिक संगठन तत्कालीन लाङ्घाली परिवार (नेपाल मगर संघ)को पाल्पा जिल्ला सचिव हुँदै भूमिगतकालमा दुई वर्ष गुल्मी जिल्ला कमिटी प्रमुख बनेका थिए । उनी दुई पटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालीन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सहईन्चार्जसमेत थिए । रानाले पार्टी कामको जिम्मेवारी पूरा गर्ने सिलसिलामा पाल्पा, गुल्मीको साथै नवलपरासी, प्युठान र रुपन्देही जिल्लामा समेत केही समय काम गरेका थिए । 

२०६३ सालमा गठित नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको संस्थापक केन्द्रीय महासचिव तथा नेपाल लोकतान्त्रिक मगर संघको संस्थापक केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनी दुई पटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्य भए । छोटो अवधिका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत भए । 

पारिवारिक समस्या देखाएर रानाले पार्टीको जिम्मेवारीबाट अलग भएको जनाएका छन् । सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने उनले प्रतिबद्धता जनाएका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully