'निर्वाचन नहुनु भनेको फेरि द्वन्द्वको ढोका खोल्नु हो,' उनले भने, 'स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउनु सरकारको मुख्य दायित्व हो।'
स्याङ्जा — नेकपाका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरू एकताबद्ध भएर जनताको अपेक्षाअनुसार परिवर्तन ल्याउनुपर्ने बताएका छन् । स्याङ्जामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले अब टुटफुट दोहोरिन नहुने बताएका हुन् ।
'हजारौँ बलिदानपछि राजनीति परिवर्तन त आयो, तर जनताको जीवनस्तर उकास्ने काम भने अझै बाँकी छ,' नेता श्रेष्ठले भने, 'अहिले नयाँ राजनीति उदाएर जनताको जीवनशैली रूपान्तरण गर्नुपर्ने खाँचो छ।'
अहिलेसम्मका राजनीतिक असन्तुष्टिले देशलाई गलत दिशातिर डोर्याएको बताउँदै उनले सरकारले द्वन्द्व निम्त्याएको आरोप लगाए । जेन-जी आन्दोलन देशका सबै वर्गको साझा मुद्दा भएको उनले बताए ।
आगामी फागुन २१ मा निर्वाचन अनिश्चित देखिएको उल्लेख गर्दै उनले समयमा चुनाव गराउन सरकारलाई सबै दलले सहकार्य गर्नुपर्ने बताए । 'निर्वाचन नहुनु भनेको फेरि द्वन्द्वको ढोका खोल्नु हो,' उनले भने, 'स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउनु सरकारको मुख्य दायित्व हो।'
संसद् पुनःस्थापनाको मागले थप अस्थिरता निम्त्याउने भएकाले अब घोषित मितिमै निर्वाचन गर्नुपर्ने उनले स्पष्ट पारे। पार्टी संरचना छिटो टुंग्याउन पनि उनले आग्रह गरे । नेता श्रेष्ठले पार्टीभित्र केन्द्रीय समिति, सचिवालयदेखि प्रदेश संरचना छिटो बनाएर अर्गनाइजेसन मजबुत बनाउनु पहिलो दायित्व भएकै बताए । 'कहिलेसम्म पूर्वपार्टी भनेर बोलाउने? अब नयाँ संरचना छिटो टुंग्याउनैपर्छ,' उनले भने
