एमाले सिरहा नगर कमिटीका अध्यक्ष दीपक यादव भन्छन् : 'मालपोत धेरै घूस खाने अड्डा हो, यसलाई धेरै ठोकौं न त भन्ने हाम्रोमा सल्लाह भयो । त्यस हिसाबले मालपोतसँग ५१ हजार रुपैयाँ मागेका हौं ।'
What you should know
सिरहा — एमालेले आसन्न ११औं महाधिवेशनका लागि चन्दा उठाएको पाइएको छ । एमालेले महाधिवेशनका नाममा सरकारी कार्यालय, उद्योग, विद्यालयलगायतसँग चन्दा असुली गरिरहेको पाइएको हो ।
एमाले सिरहाले भूमि सुधार तथा मालपोत कार्यालय, सिरहासँग ५१ हजार रुपैयाँ चन्दा बुझिलिएको रसिद बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल छ । यसको सत्यता बुझ्न हामीले एमालेका सिरहा नगरपालिकाका अध्यक्ष दीपक यादवलाई सम्पर्क गर्यौं ।
मालपोतसँग चन्दा मागेको कुरा उनले स्वीकार गरेका छन् । 'मालपोत धेरै घूस खाने अड्डा हो, यसलाई धेरै ठोकौं न त भन्ने हाम्रोमा सल्लाह भयो,' कान्तिपुरसित उनले भने, 'त्यस हिसाबले मालपोतसँग ५१ हजार रुपैयाँ मागेका हौं ।'
तर, पैसा भने आफूलाई प्राप्त भइनसकेको दाबी उनले गरे । त्यसपछि बुझिलिनेमा तपाईंले नै सही गर्नुभएको छ नि भनेर प्रश्न गर्दा उनले भने, 'पैसा मकहाँ आइपुगेको छैन, हाम्रो साथीले त्यसमा हस्ताक्षर गराए, उनीहरूले बुझेका होलान् ।'
मालपोतका प्रमुख अरविन्दकुमार चौधरीले पनि चन्दा दिएको कुरा अस्वीकार गरे । 'हामीसँग चन्दा मागिएको हो, तर दिएका छैनौं,' उनले भने, 'टेबुलमा रसिद राखिएको थियो, खै कसले फोटो खिचेर भाइरल गरिदिएछन् ।'
एमाले नगर अध्यक्ष यादवका अनुसार, सदरमुकामका अन्य सरकारी कार्यालयसँग पनि यसै हाराहारीमा चन्दा मागिएको छ । सरकारी अड्डाका साथै विद्यालय, उद्योगलगायतसँग पनि सहयोग स्वरुप चन्दा माग गरेको उनले बताए ।
'महाधिवेशनमा काठमाडौं जाने खर्च उठाउन माथिबाटै निर्देशन भएअनुसार गरिरहेका हौं, तर यसमा जबर्जस्ती कुनै छैन,' उनले दाबी गरे, 'दिनेले राजीखुसी दिन्छन्, नदिनेलाई कर गर्दैनौं ।'
तर, सदरमुकामस्थित एक सरकारी कार्यालयका प्रमुखले चन्दा संकलनमा संलग्नहरूले जबर्जस्ती गरिरहेको सुनाए । रसिदमा उल्लेख गरिएबमोजिम रकम नदिए 'देखाइदिने' धम्की उनीहरूले दिने गरेको ती कार्यालय प्रमुखको आरोप छ ।
'उहाँहरूले जबर्जस्ती पैसा मागिरहनुभएको छ, मकहाँ पनि रसिद लिएर आउनुभएको थियो,' ती कार्यालय प्रमुखले भने, 'मैले रसिद बुझ्न नमानेपछि हाम्रो सरकार फेरि आउँछ, अनि देखाउँछौं भन्दै धम्क्याएर जानुभयो ।'
यसैगरी एमालेले जिल्लाभर चन्दा उठाइरहेको सिरहाका एक एमाले नेताले नै बताए । 'पार्टीबाटै चन्दा उठाउन सर्कुलर छ, त्यसै हिसाबले पैसा उठाउने काम भइरहेको छ,' नाम उल्लेख नगर्ने शर्तमा ती नेताले भने, 'तर, यसले पार्टीको छविलाई झन् बिगार्छ, हामीले यसको पार्टीभित्रै विरोध गर्यौं, सुनुवाइ भएन ।'
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने जबर्जस्ती कतैबाट चन्दा मागिएको कुरा आफ्नो जानकारीमा नरहेको भन्दै एमालेको बचाउ गरेका छन् । 'जहाँ-जहाँ मागिएको छ, त्यहाँ मैले कुरा गरेँ, जबर्जस्ती गरेको पाइएन,' उनले भने, 'जबर्जस्ती गैरकानुनी हो, स्वेच्छिकलाई भन्न सकिन्न ।'
एमालेका जिल्ला अध्यक्ष अशोक यादवले भने कार्यकर्ताबाहेक अरूसँग यसरी पैसा उठाउने आफूहरूको नीति नरहेको भन्दै यस्तो कार्य गर्ने व्यक्ति नै त्यसका लागि जिम्मेवार हुने बताए । 'यसरी पैसा उठाउने हाम्रो कुनै नीति छैन,' उनले भने, 'यसका लागि यस्तो गर्ने मान्छे नै जिम्मेवार हुनुपर्छ ।'
