एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

संस्थापनबाट महासचिव पदमा भने तीन नेता शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली आकांक्षी छन् । पोखरेल हाल महासचिव छन् भने गुरुङ र ज्ञवाली उपमहासचिव हुन् । तीनै नेता आफूसँग निकट भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यवस्थापन गर्न गाह्रो परेको छ ।

मंसिर २५, २०८२

गंगा बीसी

Many aspirants in UML establishment, other parties preparing for panel

काठमाडौँ — एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी भएपछि प्यानल बनाउन समस्या भएको छ । इतर पक्षतर्फ कमै नेता खुलेकाले केन्द्रीय कमिटीसम्म प्यानल बनाउने कि पदाधिकारी मात्रै भन्ने टुंगो लागेको छैन । उम्मेदवार मनोनयन गर्ने दिन २८ मंसिरमा प्यानल सार्वजनिक गर्ने दुवै पक्षको तयारी छ । 

एमालेको विधानमा १५ पदाधिकारी हुने प्रावधान छ, जसअनुसार १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव रहनेछन् ।

ओलीनिकट नेताहरूका अनुसार पदाधिकारीमा ४० नेता आकांक्षी छन् । संस्थापनमा उपाध्यक्षका लागि विष्णु पौडेल, रामबहादुर थापा, गुरु बरालले निरन्तरता पाउने सम्भावना छ । स्थायी कमिटी सदस्य रघु पन्तले पनि उपाध्यक्षको दाबी पेस गरेका छन् । ओलीनिकट उपमहासचिव विष्णु रिमालको पनि उपाध्यक्षमा चर्चा छ ।

संस्थापनबाट महासचिव पदमा भने तीन नेता शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली आकांक्षी छन् । पोखरेल हाल महासचिव छन् भने गुरुङ र ज्ञवाली उपमहासचिव हुन् । तीनै नेता आफूसँग निकट भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यवस्थापन गर्न गाह्रो परेको छ । 

कार्यकर्ताले पुरानै नेतृत्वको निरन्तरता चाहेको महासचिव पोखरेलले दाबी गरे । ‘अध्यक्षलाई बलियो बनाउन टिम निर्माण गर्नुपर्छ भन्ने पक्षमा छौं । किनकि संक्रमणकालको व्यवस्थापन चुनौतीको सामना उहाँको नेतृत्वमा हुन्छ,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अन्य नेताले अपेक्षा राख्ने कुरा स्वाभाविक कुरा हो । अन्त्यमा पार्टी अध्यक्षले जे भन्नुहुन्छ, सबैले मान्नुपर्छ भन्ने साझा दृष्टिकोण छ । त्यसमा कुनै समस्या हुन्छ भन्ने लाग्दैन ।’

उपमहासचिव गुरुङले आफू महासचिव पदमा इच्छुक भएको अध्यक्ष ओलीलाई जानकारी गराएको बताए । ‘अध्यक्षलाई योग्यता, क्षमता वा मान्छेको रुचिअनुसारको कार्यविभाजन, जिम्मेवारी भयो भने राम्रो हुन्छ भनेका छौं,’उनले भने ।

संस्थापनमा ३ उपमहासचिव र ७ सचिवका लागि आकांक्षी नेता धेरै छन् । हालका सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल उपमहासचिवमा आकांक्षी छन् । जेन–जी आन्दोलनपछि ओलीका लागि सुरक्षा र निवास व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका महेश बस्नेत पनि उपहासचिव वा सचिवमा आकांक्षी छन् ।

सचिवमा नेताहरू खगराज अधिकारी, भानुभक्त ढकाल, किरण गुरुङ, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई, अग्नि खरेल, राजेन्द्र गौतम, हिक्मत कार्की, सूर्य थापा, जुली महतो, ज्वाला साह, नीरज आचार्य, नरुलाल चौधरी, खिमलाल भट्टराई, पदम गिरी र विशाल भट्टराईलगायत नेता आकांक्षी छन् । हालका पदाधिकारीबाहेक २३ स्थायी कमिटीमध्येका अधिकांश सचिवका आकांक्षी छन् । उपमहासचिव विष्णु रिमालले अध्यक्ष ओलीको नेतृत्वमा टिम बन्ने भएकाले संस्थापन पक्षमा विवाद नभएको बताए । ‘अध्यक्ष ओलीको नेतृत्वमा टिम बन्छ । त्यसमा राम्रो संयोजन हुनेछ,’ उनले भने ।

इतरपक्षमा महासचिवको उम्मेदवारमा उपाध्यक्ष सुरेन्द्र पाण्डे वा सचिव योगेश भट्टराईमध्ये एक हुनेछन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन छ । बुधबार पत्रकार सम्मेलन गरी पोखरेलले प्यानल बनाउने तयारी भइरहेको बताए । ‘प्यानल बनाउने गृहकार्यमा छौं,’ उनले भने ।

पोखरेल पक्षमा खुलेका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य दोहोरिन चाहेका छैनन् । उक्त समूहमा पदाधिकारीको पूरै प्यानल उठाउने गरी नेता खुलेका छैनन् । सचिव गोकर्ण बिष्टले कुन पदमा उम्मेदवारी दिनेबारे भन्ने टुंगो भएको छैन । उपमहासचिवमा बिन्दा पाण्डे, सचिवमा परशुराम मेघी गुरुङ, ठाकुर गैरे, सुरेन्द्र मानन्धर, रचना खड्का, उषाकिरण तिम्सेनालाई उठाउने तयारी छ ।

‘अध्यक्ष ओलीले आयोगमा बयान दिनुपर्छ’

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २३ र २४ भदौमा भएका घटनाको जाँचबुझ गर्न बनेको आयोगमा बयान दिन अध्यक्ष केपी शर्मा ओली जानुपर्ने बताएका छन् ।

‘सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वाभाविक हो । म भए अगाडि नै गएर बयान दिन्थें । यद्यपि हामीलाई आयोगको निष्पक्षतामाथि प्रश्न छ,’ उनले बुधबार आयोजित कार्यक्रममा भने, ‘आयोगमा बयान दिन अध्यक्ष जानुपर्छ, जानुहुनेछ । यसलाई अन्यथा मान्नु हुँदैन ।’

उनले पार्टीमा विधि र पद्धति विकासका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । ‘झ्वाँक चलेर उम्मेदवारी घोषणा गरेको होइन । पार्टी जीवनको लोकतन्त्रीकरण समस्या समाधन गर्न, सामूहिक नेतृत्व नहुने खतराबाट जोगाउन मेरो उम्मेदवारी हो,’ उनले भने, ‘हामी टिम बनाउने सल्लाह गर्दै छौं । नेतृत्वका लागि प्रतिस्पर्धा गर्दा सक्रियता, पहलकदमी, श्रेष्ठता हेरी गर्छौं । हामी प्रतिस्पर्धाको परिणाम स्वीकार गर्छौं । भीम रावल जस्तो हाम्रो हकमा लागू हुँदैन ।’

ओलीले नेतृत्वबाट अलग भएर अभिभावक बन्न तयार भए सहमति हुने पोखरेलले बताए । ‘अभिभावक बन्न तयार भए, नेतृत्व फलानो हुन्छ भने सहमति हुन्छ,’ उनले भने, ‘अरू हिसाबले सहमति हुँदैन । आफू हटेर अरूलाई नेतृत्व दिएमा अब्जेक्सन हुनेछैन ।’

गंगा बीसी

Link copied successfully