घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सबै पार्टीले सहयोग गरौं : नेता श्रेष्ठ

'राजनीतिक नाराचाहिँ संसद् पुन:स्थापना होइन, यसले देशलाई सही ट्र्याकमा लैजाँदैन'

मंसिर २५, २०८२

हरिराम उप्रेती

Let all parties cooperate to hold the election on the announced date: Leader Shrestha

What you should know

गोरखा — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सबै राजनीतिक पार्टीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

गोरखामा नेकपा एकता सन्देशसभालाई बिहीबार सम्बोधन गर्दै श्रेष्ठले अहिले प्रतिनिधिसभा पुन:स्थापनाको नारा सही नहुने बताए । ‘घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुपर्ने तत्कालीन कार्यनीति हो, जेन-जीको प्रस्तावअनुसार सरकार बनाउनेमा सहमति भए पनि पूर्ण संवैधानिक बनाउन सक्ने बाटो र अवसर थिए, यसमा केही असहमति पनि राख्यौं,’ उनले भने,‘तर अन्तरिम सरकार बनिसकेर चुनाव घोषणा भइसकेपछि घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु नै तत्कालीन कार्यभार हो । निर्वाचनले देशलाई, संविधानलाई, लोकतन्त्रलाई ट्र्याकमा लैजान्छ ।'

राष्ट्रिय स्वाधिनता, संविधान र लोकतन्त्रमा देखिएको खतराप्रति सचेत रहँदै राजनीतिक पार्टीले सरकारलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सहयोग गनुपर्ने उनले बताए । ‘सरकारले घोषित मितिमा भयरहित, स्वच्छ, निष्पक्ष निर्वाचन गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ, राजनीतिक दलले बुझ्नुपर्छ कि अहिले अरु नारा लगाएर होइन घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने दिशातिर गएर देशलाई सही दिशामा लैजान सकिन्छ,’ उनले भने ।

प्रनिनिधिसभा पुन:स्थापना गरेर नियमित सरकार बनाएर मात्र देशले निकास नपाउने श्रेष्ठको भनाइ छ । ‘प्रतिनिधिसभा पुन:स्थापनाको कुरा अदालत पुगेको छ, अदालतले पुन:स्थापनाको कुरा के गर्छ अदालतकै कुरो हो,’ उनले भने,‘हाम्रो राजनीतिक नाराचाहिँ पुन:स्थापना होइन, अदालतले पुन:स्थापना गरेको अवस्थामा पनि केही समयका लागि हुनुपर्छ, लामो समय जानु हुँदैन, नियमित संसद् चलाएर नियमित सरकार बनाएर लामो समय गए देश द्वन्द्वमा फस्छ, संकट झन् थपिन्छ ।’ जेन-जी विद्रोह देशभित्र र बाहरी दुवै कारण देखिएको उनले बताए । साम्राज्यवादी र वैदेशिक शक्ति आफ्नो रणनीतिक स्वार्स्थपूर्तिका लागि विभिन्न चाल चलिरहेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully