०७९ मा चुनाव हारेका कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ समानुपातिकतर्फ उम्मेदवार सिफारिस

श्रेष्ठ यसअघि ०७९ को निर्वाचनमा चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पराजित भएका थिए भने २०७४ मा समानुपातिकतर्फ सांसद थिए।

मंसिर २५, २०८२

रमेशकुमार पौडेल

Congress treasurer Umesh Shrestha, who lost the election in 2079, recommended as a candidate for proportional representation.

What you should know

चितवन — नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन्। चितवन क्षेत्र नं. २ र ३ दुवैले श्रेष्ठलाई समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफारिस गरेका छन्।

श्रेष्ठ यसअघि ०७९ को निर्वाचनमा चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पराजित भएका थिए। सर्वसम्मत हुन नसकेपछि आकांक्षीहरू सबैको नाम सिफारिस गरिएको चितवन सभापति राजेश्वर खनालले जानकारी दिए।

उनका अनुसार चितवन-२ बाट समानुपातिकतर्फ कोषाध्यक्ष श्रेष्ठसहित १४ जनाको नाम सिफारिस भएको छ। यहाँबाट प्रत्यक्षतर्फ भने कांग्रेस सभापति खनालसहित १० जनाले आकांक्षा राखेका छन्। उनीहरू सबैको नाम सिफारिस गरिएको छ। सभापति खनालका अनुसार कोषाध्यक्ष श्रेष्ठको नाम चितवन-३ बाट पनि समानुपातिकमै सिफारिस भएको छ। 

जिल्ला कार्य समितिले २०७०, २०७४ र २०७९ मा समानुपातिकमा परेर संविधान सभा सदस्य र सांसद भएकाहरूलाई यो पटक समानुपातिकमा नराखेर प्रत्यक्षमा उम्मेदवार बनाइयोस् भन्ने टिप्पणीसहित क्षेत्रबाट प्राप्त नामावली केन्द्रमा पठाउने निर्णय गरेको सभापति खनालले बताए। 

'जिल्ला समितिको बिहीबार बैठक बसेको थियो । केन्द्रको परिपत्र क्षेत्रबाट एक जना महिलासहित तीन जनाको नाम पठाउनु भन्ने थियो। तर नाम त्योभन्दा बढी आयो,' जिल्ला सभापति खनालले भने । 

उनका अनुसार बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि चितवन-२ बाट चार जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, चितवन-१ ले प्रतिनिधि सभाको प्रत्यक्षमा १२ जना, समानुपातिकमा ६ जना र राष्ट्रिय सभामा दुई जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर-३ ले प्रत्यक्षमा अघिल्लो निर्वाचनमा एमालेको समर्थनमा स्वतन्त्र उठेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरलासहित १३ जनाको नाम सिफारिस गरेको छ। समानुपातिकमा केन्द्रीय कोषाध्यक्ष श्रेष्ठसहित १७ जना र राष्ट्रिय सभाका लागि पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङसहित सात जनाको नाम सिफारिस गरेको छ। 

समानुपातिकतर्फ सिफारिस भएका कोषाध्यक्ष श्रेष्ठ यसअघि २०७४ मा समानुपातिकतर्फ सांसद भएका थिए। 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully