डडेल्धुरा सदरमुकामस्थित बसपार्कमा बुधबार आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले देशमा बढ्दो राजनीतिक अस्थिरता, आर्थिक मन्दी र जनजीविकामा परेको असरको अन्त्य गर्न नेकपा वैकल्पिक मार्गका साथ उभिएको बताए ।
What you should know
डडेल्धुरा — नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले राष्ट्रहित, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर पार्टी जनताको घर–आँगनसम्म पुगेको बताएका छन् ।
डडेल्धुरा सदरमुकामस्थित बसपार्कमा बुधबार आयोजित ‘पार्टी एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले देशमा बढ्दो राजनीतिक अस्थिरता, आर्थिक मन्दी र जनजीविकामा परेको असरको अन्त्य गर्न नेकपा वैकल्पिक मार्गका साथ उभिएको स्पष्ट गरे ।
पछिल्ला वर्षमा राजनीतिक नेतृत्वको कमजोरी, अविश्वसनीय निर्णय प्रक्रिया र विकासभन्दा यथास्थितिवादी चरित्र बढी हावी हुँदा देश पछाडि धकेलिएको उनले बताए । आज जनताको दैनिकी अस्थिर राजनीतिका कारण प्रभावित भइरहेको भन्दै नेता रावलले भ्रष्टाचार, असमान सन्धि–सम्झौताले राष्ट्रको हितमा हानी पुगेको उल्लेख गरे । उनले यस्ता समस्याको मूल समाधान सुशासन र दृढ राजनीतिक संकल्पबिनाबाहेक अरु केही हुन नसक्ने बताए ।
उनले नेकपाले ‘देशलाई नयाँ दिशामा लैजाने’ उद्देश्यसहित विभिन्न धार र पृष्ठभूमिबाट आएका १६ वटा राजनीतिक समूह र दलहरू समाहित गर्न सफल भएको दाबी गरे । राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राखेर, विगतका गल्ती सच्याउँदै, एकीकृत पार्टीको रूपमै देशहितमा योगदान गर्ने उद्धेश्यले नेकपा स्थापना भएको उनले बताए ।
रावलले देशको आर्थिक रूपान्तरणको मूल आधार औद्योगिकीकरण भएको बताएका छन् । प्राकृतिक स्रोत–साधन, जनशक्ति र बुद्धिको सदुपयोग गर्न सके मात्रै समृद्ध नेपालको सपना पूरा हुने उनको तर्क थियो । देशका पौरख र सीपलाई यही मातृभूमिको विकासका लागि उपयोग गरी उद्योग, कृषि, पूर्वाधार र सीपमा आधारित उत्पादनलाई जोड दिएर मात्र रोजगारी र समृद्धि सम्भव रहेको उनले जोड दिए ।
कार्यक्रममा बोल्दै रावलले पार्टीले अघि सारेका प्रमुख एजेन्डामध्ये सुशासन, भ्रष्टाचार नियन्त्रण, असमान सन्धि पुनरावलोकन, आर्थिक आत्मनिर्भरता र जनजीविकामा सुधारलाई शीर्ष प्राथमिकता दिएको उल्लेख गरे । उनले राजनीतिक द्वन्द्व, अविश्वास र विभाजनले देशलाई कमजोर बनाउने भएकाले एकता र स्पष्ट उद्देश्यको राजनीतिमात्रै दीर्घकालीन समाधान हुन सक्ने बताए ।
