झापा-५ यसअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जितेको क्षेत्र हो ।
What you should know
झापा — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको गढ मानिने झापा क्षेत्र–५ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा यसअघि ओलीसँगै दुई पटक चुनाव लडिसकेका खगेन्द्र पाण्डव अधिकारीसँगै ७ जनाको नाम कांग्रेस क्षेत्रीय समितिले सिफारिस भएको हो ।
क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार खगेन्द्रप्रसाद पाण्डव अधिकारी, अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा चिमरिया, देवीप्रसाद दाहाल, मेदनी सिटौला र सिरम कार्कीको नाम सिफारिस भएको हो । केरुङ, सिटौला र चिमरिया कांग्रेसको महासमिति सदस्य हुन् भने पौडेल ६ वर्षअघि एमालेबाटै कांग्रेस प्रवेश गरेका नेता हुन् ।
यसैगरी दाहाल जिल्लाको पूर्वकोषाध्यक्ष हुन् भने कार्की विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अधिकारी भने यसअघि नै २०७४ र २०७९ को निर्वाचनमा गरी दुई पटक एमाले अध्यक्षसँग प्रतिस्पर्धा गरेका नेता हुन् ।
सभापति भण्डारीका अनुसार उमेदवारका लागि धेरै जनाको नाम आएपछि जोखिम नमोली सोझै जिल्लालाई नाम पठाइएको हो । ‘प्रक्रियागत तवरले जिल्ला, प्रदेश हुँदै केन्द्रमा नाम पुग्नेछ । केन्द्रको पत्र अनुसार क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको हो,’ उनले भने ।
क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गर्दा ४० वर्षमुनिका कोही पनि परेका छैनन् । जेन-जी विद्रोहपछि हुन लागेको निर्वाचनमा जेन-जी उमेदवारले प्रतिस्पर्धा गर्ने धेरैको अपेक्षा छ । तर, झापा-५ बाट कांग्रेसले ४० वर्षमाथिकै ७ जनाको नाम सिफारिस गरेको हो ।
एमाले अध्यक्ष ओली स्वयं यहाँबाट चुनाव लड्ने भएकाले कांग्रेसले कस्तो उमेदवार उठाउँछ भनेर झापा-५ लाई चासोका साथ हेर्ने गरिन्छ ।
