चन्द्र भण्डारी कांग्रेस सभापतिमा उठ्ने

भण्डारी १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।

मंसिर २४, २०८२

घनश्याम गौतम

Chandra Bhandari to become Nepali Congress President

बुटवल — कांग्रेस नेता चन्द्र भण्डारीले पुसमा हुने १५ औं महाधिवेशनमा पार्टी सभापति पदमा उठ्ने घोषणा गरेका छन् । नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति पदमा आफ्नो स्पष्ट आकांक्षा रहेको सार्वजनिक गरेका हुन् । 

नेता भण्डारीले बुधबार सामाजिक सञ्जालमा लेख्दै सभापति पदप्रतिको आकांक्षा र दृष्टिकोण पहिले नै निर्धारित रहेको स्पष्ट पारेका छन् । भण्डारी १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।

त्यसपछि उनी केन्द्रीय सदस्यमा मनोनीत भएका थिए । गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित नेता भण्डारीले कांग्रेसभित्र स्वच्छ छवि र प्रस्ट विचार राख्ने नेताका रूपमा लोकप्रियता बढाइरहेका छन् । 

पुस २७ देखि २९ सम्म काठमाडौंमा हुने घोषणा भएको १५ औं महाधिवेशनमा साथीहरूको जिज्ञासा र मेरो धारणा भन्दै उनले सभापतिप्रतिको आकांक्षा व्यक्त गरेका हुन् । ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित !,’ उनले लेखेका छन्, ‘तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म–जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु । साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’

कांग्रेसमा उनी शेखर कोइरालापक्ष मानिन्छन् । तर, अहिले उनले शेखर–गगन वा देउवा कुनमा पक्षमा लाग्ने भन्ने स्पष्ट पारेका छैनन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully