८० वर्षीय देउवा फेरि चुनावी दौडमा, केसी र अधिकारीले भने : युवा पुस्तालाई अघि सार्छौं

पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहेका राजन केसी(६७) र रामनाथ अधिकारी(६४ )ले संसदीय राजनीतिक यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका छन् ।

मंसिर २४, २०८२

कुलचन्द्र न्यौपाने

80-year-old Deuba in the election race again, KC and Adhikari say: We will bring the younger generation forward

What you should know

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा ८० वर्षको उमेरमा अन्तिम पटक भन्दै चुनाव लड्ने योजना बनाइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका कांग्रेसकै दुई नेताले भने युवा पुस्ताका लागि भन्दै संसदीय राजनीतिको बाटो छाड्ने घोषणा गरेका छन् ।

पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहेका कीर्तिपुर निवासी राजन केसी(६७) र रामनाथ अधिकारी(६४)ले आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा आ–आफ्नो निर्वाचन क्षेत्रबाट गरेका हुन् । केसी काठमाडौं-१० कीर्तिपुरबाट र अधिकारी धादिङ–२ बाट निर्वाचित तत्कालीन सांसद हुन् ।

२१ फागुनको निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाटै उम्मेदवार हुनका लागि कांग्रेसमा आकांक्षीको लर्को लागेको छ । ०४८ सालदेखि सक्रिय राजनीतिमा लागेका, पूर्वसांसदसमेत उम्मेदवार हुन अझै लामबद्ध भइरहेका बेला केसी र अधिकारीले भने आफ्नो स्थानमा युवाहरूलाई अघि बढ्न सन्देश दिएका छन् ।

उम्मेदवार सिफारिसको प्रारम्भिक दृश्य हेर्दा जेन-जी आन्दोलनपछि पनि परिवर्तनको कुनै संकेत कांग्रेसभित्र देखिएको छैन । उम्मेदवारको लाममा नयाँभन्दा पुरानाहरूकै वर्चश्व देखिएको छ । 

सभापति देउवा आफैंले अन्तिम पटक उम्मेदवार हुने भनेर आफू निकटस्थहरूसँग चाहना प्रकट गरिरहेका छन् । उनकै आकांक्षा बुझेर डडेलधुरा कांग्रेसले देउवाको एकल नाम केन्द्रमा पठाउन सिफारिस गरेको छ । देउवाको यो आकांक्षाले पनि उनका समकालीन नेताहरूलाई हौसाएको छ ।

०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिएका केसीले भने आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रिय सभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने बताए । 

केसी २०७० को चुनावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर एकाएक चर्चामा आएका थिए । ०६४ दाहालबाटै पराजित भएका केसीले ७० मा नतिजा उल्टाएका थिए । ०६४ मा दाहालले २५ हजार बढी मत प्राप्त गर्दा केसीले १२ हजार मत ल्याएका थिए । तर, ७० को चुनावमा केसीले २४ हजार बढी र दाहालले १२ हजार मत ल्याएका थिए ।  त्यसपछि उनले लगातर त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । कुनैबेला एमालेको प्रभावक्षेत्र रहेको कीर्तिपुर ०७९ को निर्वाचनसम्म आइपुग्दा संसदीय चुनावदेखि यस क्षेत्रमा रहेका तीन पालिका र कीर्तिपुरका सबै वडा कांग्रेसले जितेको थियो ।

‘यस पटक पनि साथीहरूले तपाईंको एकल नाम पठाउने हो भनेर मान्दै नमानी तीन दिनदेखि नै सिफारिस रोक्दै आउनु भएको छ । तर, मैले जेन-जी आन्दोलन अघिदेखि नै आन्तरिक रूपमा घोषणा गरिसकेको थिए । सार्वजनिक रूपमा अहिले मात्रै भनेको हो,’ केसीले भने,‘एउटै व्यक्ति लामो समयसम्म त्यही पदमा बसिरहँदा भावी पुस्ताका लागि र पार्टीको क्षमतामा पनि ह्रास आउँछ । अर्कोतर्फ युवाहरू ल्याउने भन्ने तर झ्यालढोका थुनेर बस्ने काम गर्न हुँदैन भन्ने लाग्यो । त्यसैले नयाँ पुस्ताका लागि बाटो छोडिदिएको हो ।’

सैद्धान्तिक रूपमा पार्टी र शासकीय भूमिकामा समेत दुई पटकको कार्यकालभन्दा बढी हुन नहुने आफ्नो मान्यता रहेको उनी बताउँछन् । पार्टीभित्र सभापति दुई कार्यकाल भए पनि प्रधानमन्त्री, मन्त्री र सांसदको मापदण्ड पनि त्यसैर बनाउनुपर्ने उनी बताउँछन । ‘पछिल्लो समयमा हामीभन्दा धेरै योग्य साथीहरू लाइनमा हुनुहुन्छ । प्रविधि र नयाँ जोस जाँगर भएका साथीहरू हुनुहुन्छ । झ्यालढोका थुन्ने र बाहिर आउनुहोस् भनेर मात्रै भएन,’ केसीले थपे,‘त्यसकारण अब पार्टीमा मात्रै सक्रिय हुन्छु । संसदीय राजनीतिबाट विश्राम लिएिको घोषणा गरेँ ।’

पूर्वमन्त्रीसमेत रहेका रामनाथ अधिकारी धादिङबाट ०५६ सालदेखि नै चुनाव लड्दै आएका हुन् । जेन-जी आन्दोलनका बेलामा भदौ २३ गते  धादिङमा रहेका अधिकारीले २४ गते बिहानै काठमाडौं आएर मन्त्रीबाट राजीनामा दिएका थिए । कांग्रेसबाट राजीनामा दिने उनी पहिलो मन्त्री थिए । ‘जेन-जी आन्दोलनले एकातिर युवाहरूको माग गरेको छ, अर्कोतर्फ पुस्तान्तरण र हस्तान्तरणको मुद्दा धेरै अघिदेखि उठिरहेको हो,’ अधिकारीले भने,‘त्यसका लागि अब वाधक बन्न हुन्न भनेर समयको माग बुझेर नै बाटो छोड्ने निर्णय लिएको हुँ ।’

०५६ र ०७९ मा चुनाव जितेर दुई कार्यकाल उनी पनि सांसद भइसकेका छ्न् । उनी ०६४ र ०७० मा समेत चुनावी प्रतिस्पर्धामा थिए । उनी पार्टीका जिल्ला सभापति भए  । ‘मुलकको परिस्थिति बुझेर त्यसलाई सघउनकै लागि बाटो खुला गरेको हो,’ फेरि चुनाव लड्ने उद्घोष गरिरहेका सभापति देउवाप्रति लक्षित गर्दै अधिकारीले थपे,‘सानाको सन्देशबाट पनि ठूलाले सिक्न सक्नुपर्छ र यो शिक्षा अरुले पनि सिकून् भन्ने चाहन्छु ।’

कुलचन्द्र न्यौपाने

Link copied successfully