झ्यालढोका थुनेर युवा आऊ भनेर मात्रै हुँदैन, त्याग गर्न सक्नुपर्छ : कांग्रेस नेता केसी

'सभापतिलाई छाड्नुहोस भन्न मिलेन । लड्ने, नलड्ने उहाँको अधिकारको कुरा हो । तर, मेरो यो घोषणा राजनीतिमा एउटा सन्देश दिनकै लागि हो । पार्टीभित्र पनि अब युवाहरूले नेतृत्व लिनुपर्छ भनेर संस्थापन पक्षबाटै २५ भाइको समूहमा छु ।'-राजन केसी, कांग्रेस नेता

मंसिर २४, २०८२

कान्तिपुर संवाददाता

It is not enough to just close the doors and windows and ask the youth to come, one must be able to sacrifice: Congress leader KC

What you should know

काठमाडौँ — पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहेका कीर्तिपुर निवासी राजन केसी(६७) ले आफ्नो संसदीय राजनीतिको यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका छन् । केसी काठमाडौं-१० कीर्तिपुरबाट निर्वाचित तत्कालीन सांसद हुन् । 

०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिएका केसीले भने आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रिय सभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने बताए । यसै सन्दर्भमा नेता राजन केसीसँग कान्तिपुरका लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

तपाईंले संसदीय राजनीतिबाट अलग हुने घोषणा किन गर्नुभयो ?

०६४ देखि नै म चुनाव लड्दै आएको हो । ७० देखि अहिलेसम्म तीनपटक  जितेर सांसद भएर काम गरिसकेँ । ०७४ को अन्तिमतिर शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री पनि भएँ । अब, एउटै व्यक्ति किन बारम्बार चुनाव लड्ने ? मैले आफ्नो ठाउँलाई जे दिनुपर्दथ्यो, त्यो दिइसकेको छु, अब जति भएपनि त्यस्तै हो । अर्कोतर्फ जेनजी आन्दोलनको भावनाको पनि सम्बोधन होस र नयाँ पुस्ताहरु आउन भनेर बाटो खोल्ने काम गरेको हो ।

जेन-जी आन्दोलनपछि चुनाव जितिँदैन भन्ने हिसाबले गर्नुभएको घोषणा त होइन ?

होइन, अहिले पनि कीर्तिपुरमा मैले हार्ने सम्भावना छैन । तर, यो घोषणा मैले जेन-जी आन्दोलन हुनुअगाडि नै गरेको हो । ०७९ को चुनाव जित्नेबित्तिकै क्षेत्रका सबै साथीहरूलाई राखेर अब तपाईंहरू तयार हुनुहोस्, म मात्रै हुने कुरा हुन्न । म अबको चुनाव लड्दिनँ भनेर त्यतिबैले भनेको थिएँ । अहिले आएर सार्वजनिक मात्रै गरेको हो । पार्टीभित्र पनि पढेलेखेका साथीहरू हुनुहुन्छ । बीसौँ बर्ष  काम गरिरहनु भएको छ । झ्यालढोका थुनेर युवाहरू आउनुपर्छ भनेर मात्रै भएन । त्यसैले ढोका खोल्न नसकेपछि झ्याल खोल्ने काम गरेको हो ।

तपाईं अब राजनीतिबाटै सन्न्यास लिनु भएको हो ?

०५१ सालदेखि नै वडाध्यक्ष भए । त्यसपछि जिल्ला विकास समितिको सभापति, पार्टीमा इकाई सभापति हुँदै, क्षेत्रीय सभापति र केन्द्रीय सदस्यमा निर्वाचित भएको हो । पार्टी सुधार गर्न प्रविधिमा पकड भएका र जोस जाँगरले भरिएका युवाहरू हुनुहुन्छ । उहाँहरूलाई ठाउँ दिनुपर्छ भनेर मैले ०७९ को चुनाव जितेपछि नै यो मेरो अन्तिम कार्यकाल हो भन्दै आएको हो ।

कीर्तिपुर कुनै बेला एमालेको लालकिल्ला थियो । अहिले कीर्तिपुरका तीनवटै नगरपालिकामा कांग्रेसले जितेको छ । कीर्तिपुरका दसवटै वडाहरू कांग्रेसले जितेको हो । फेरि पनि कीर्तिपुरमा कांग्रेसले जित्ने हो । मैले यता सांसद मात्रै नभएर निरन्तर वडा, गाउँदेखि नै संगठनको काम गर्दै आए । अब मैले मात्रै बाटो छेकेर बस्न हुन्न ।यसरी नयाँ नेतृत्व आउन सक्दैन भनेर नै छोड्ने निर्णयमा पुगेको हो ।

सभापति शेरबहादुर देउवा ८० वर्षको उमेरमा चुनाव लड्ने भनेर भन्दै आउनु भएको छ, अनि तपाईं भने छाड्न घोषणा गर्नुभयो, यो प्रेरणा कसरी आयो ?

मैले पार्टीभित्र र देशकै लागि एउटा सन्देश दिन खोजेको हो । म एउटाले चाहेर मात्रै तात्विक परिवर्तन हुँदैन होला । तर, यसले सकारात्मक सन्देश नै जानेछ भन्ने मैले ठानुको छु । धेरै अघिदेखि नै समाजको मनोविज्ञान बुझेको छु । समाज कतातिर जाँदैछ अनुभव गरेको छु । राजनीतिक परिस्थिति कसरी बिग्रँदै छ भन्ने अनुभव छ । यी सबैको आधारमा मैले बाटो छाड्ने निर्णय लिएको हो । त्यसमा जेन-जी मुमभेन्टले अझ प्रभाव पार्‍यो।

सभापतिले पनि चुनाव लड्न हुन्न भन्ने तपाईंको भनाइ हो ?

सभापतिलाई छाड्नुहोस भन्न मिलेन । लड्ने, नलड्ने उहाँको अधिकारको कुरा हो । तर, मेरो यो घोषणा राजनीतिमा एउटा सन्देश दिनकै लागि हो । पार्टीभित्र पनि अब युवाहरूले नेतृत्व लिनुपर्छ भनेर संस्थापन पक्षबाटै २५ भाइको समूहमा छु । नारा आफूले अघि सार्ने र व्यवहारमा आफैंले हडप्ने कुरा हुँदैन ।

तपाईंको निर्वाचन क्षेत्रमा कस्तो व्यक्ति अब सांसद देख्न चाहनुहुन्छ ?

युवा पुस्ता आउनुपर्छ । त्यस्तो युवा, जसले जनताको लोकप्रियता हासिल गरेको छ, सुखदुःखमा काम गरेको छ र पार्टीमा पनि योगदान गरिरहेको छ, यस्तो व्यक्ति अघि सरिदिए हुन्थ्यो भन्ने लागेको छ ।

तपाईंले छाड्दै गर्दा सैद्धान्तिक रूपमा पार्टीले लिनुपर्ने केही मान्यतालाई पनि अघि सार्नु भएको छ कि ?

दुई कार्यकालभन्दा बढी सांसद रहनु हुन्न भन्ने मेरो सैद्धान्तिक मान्यता हो । म जहिल्यै कीर्तिपुरबाट एकल सिफारिस भएर उम्मेदवार भएको व्यक्ति हो । अहिले पनि साथीहरूले कुनै पनि हालतमा हुन्न भनेर  सिफारिस रोकेर राखिरहेका छन् । तर, मैले घोषणा गरेपछि अब फर्कने कुरा हुन्न । मेरो मान्यता सभापतिजस्तै सांसद, मन्त्री र प्रधानमन्त्रीसमेत दुई कार्यकालभन्दा बढी हुनुहुन्न भन्ने हो ।

तपाईंले संसदीय राजनीति मात्रै छाड्नु भएको हो कि, पार्टीबाट पनि अलग हुन खोज्नु भएको हो ?

पार्टीमा भने काम गर्छु । अहिले केन्द्रीय सदस्य छ । आउँदो अधिवेशनमा पनि म केन्द्रीय सदस्यमै उठ्छु । केन्द्रीय सदस्यमा नै उठेर केन्द्रीय स्तरमा रहेर पार्टीका काम गर्ने चाहना छ । तर, संसदीय फाँटमा फेरि राष्ट्रिय सभा, समानुपातिक कतै पनि म जान्नँ ।

सबैले लोभ गरिरहँदा तपाईंलाई पनि कुनै बेला नछाडौँ भएन ?

भएन । मूलतः पार्टीमा नयाँ पुस्ता नै आओस् भन्ने चाहना पहिल्यैदेखिको हो । अर्कोतर्फ पार्टी जुन किसिमले सञ्चालन भइरहेको छ, त्यसप्रति मेरो असन्तुष्टि पनि छ । त्यसैले मैले यो घोषणा गरेको हुँ । 

गठबन्धनका नाममा पार्टी नीति र सिद्धान्तबाट विचलित हुँदै गएको छ । पार्टीले जुन ढंगले लिएर जानुपर्दथ्यो । त्यो भएन । निर्वाचनमा गठबन्धन गर्नु ठूलो गल्ती भयो ।  यद्यपि मैले कीर्तिपुरमा गठबन्धन गर्न दिइनँ । व्यक्तिगत रूपमा एउटा सांसद जित्नका लागि गठबन्धन गर्दा राम्रो होला तर पार्टीको सिद्धान्त र नीतिका दृष्टिले यो सर्वदा गलत थियो । अब त्यस्तो दोहोरिन दिन हुन्न ।

कान्तिपुर संवाददाता

Link copied successfully