अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उपत्यका बाहिर रहेकाले भेटेर निमन्त्रणा दिन बाँकी रहेको बताइन्।
काठमाडौँ — एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ। निम्ता पठाइएका दलका प्रतिनिधिहरू महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा सहभागी हुनेछन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालका प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशन उद्घाटनमा सहभागी हुन पत्राचार गरिसकिएको बताए।
महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत दललाई निम्तो दिइएको बताए।
कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर निमन्त्रणा दिइएको अतिथि सत्कार समितिका सदस्य सुनिता बरालले बताइन्। उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल उपत्यका बाहिर रहेकाले भेटेर निमन्त्रणा दिन बाँकी रहेको पनि बताइन्।
एमालेको महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरस्थित सल्लाघारीमा हुँदैछ।
