आधार क्षेत्रमा कमजोर बन्दै पूर्वमाओवादी 

प्रदेशसभाको पहिलो कार्यकालमा पूर्व माओवादीबाट ११ जना सांसदमध्ये १० मन्त्री र एक जना उपसभामुख भए । दोस्रो कार्यकालमा पनि १३ जनामध्ये एकजना उपसभामुख र ९ जना मन्त्री बनिसकेका छन् ।

मंसिर २३, २०८२

कृष्णप्रसाद गौतम

Former Maoists are becoming weaker in the base area

What you should know

सुर्खेत — एकपछि अर्को गर्दै विभाजन भएपछि कर्णालीमा पूर्वमाओवादी कमजोर बन्न थालेको छ । पछिल्ला निर्वाचनमा पूर्व माओवादीले जनमत घटाइरहेको छ भने पूर्वमाओवादीका प्रभावशाली नेताहरु बाहिरिएपछि आधार क्षेत्र नै कमजोर बनेको हो ।

यसअघि कर्णालीमा पूर्व माओवादीका प्रभावशाली नेताहरु खड्कबहादुर विश्वकर्मा, लोकेन्द्र विष्ट, हेमन्तप्रकाश ओली, धर्मेन्द्र बास्तोलालगायत नेताहरु पूर्व माओवादीबाट बाहिरिएका थिए भने कर्णालीमा पूर्व माओवादीबाट सबैभन्दा प्रभावशाली मानिएका जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन् ।

उक्त पार्टीमा कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, गोर्खबहादुर केसीलगायत नेताहरु गएका छन् । शर्मा पूर्वमाओवादी शान्ति प्रक्रियामा आएपछि भएका निर्वाचनमा लगातार चारपल्ट मतान्तर बढाउॅदै निर्वाचित हुने एक मात्र नेता हुन् । 

उनले २०६४ मा २२ हजार ५ सय ७५, २०७० मा ३० हजार २ सय ७०, २०७४ मा ३४ हजार ४ सय २ र २०७९ मा ३९ हजार ५ सय ४९ मत पाएर संसदीय निर्वाचन जितेका थिए । उनी शान्ति तथा पुनर्निर्माण, अर्थ, ऊर्जा र गृहमन्त्रीसमेत बनिसकेका छन् । 

‘अरु जिल्लामा जनमत झन् झन् कमजोर बन्दा पनि उनी मतान्तर बढाउॅदै लगातार विजयी बनेका थिए, त्यसले पनि उनको प्रभाव र लोकप्रियता कस्तो छ भन्ने देखाउॅछ,’ राजनीतिक विश्लेषक नरेन्द्र केसीले भने, ‘उनी नै संस्थापन पक्षतिर नगएपछि माओवादी झन् कमजोर बनेको छ ।’

२०६४ सालको निर्वाचनमा साविक मध्यपश्चिमका १० जिल्लामा पूर्व माओवादी पहिलो शक्ति थियो । उक्त निर्वाचनमा पूर्व माओवादीबाट ११ प्रत्यक्ष र ८ समानुपतिक गरी १९ जना सांसद बने । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने चार प्रत्यक्ष र ३ समानुपातिक गरी पूर्व माओवादी सांसदको संख्या ७ मा झर्‍यो ।

२०७४ सालको निर्वाचनमा एमालेसँग सहकार्य गर्दा पनि माओवादीले ५ प्रतिनिधिसभा क्षेत्रमा मात्र जीत हात पार्न सकेको थियो भने २०७९ मा एक सिट गुमाएर चारमा सीमित बन्यो । माओवादी शान्ति प्रक्रियामा आएदेखि २०८१ असारसम्म निरन्तरजसो सत्तामा भए पनि पूर्वलडाकू, घाइते, अपांगता भएका व्यक्तिलगायतप्रति पूर्व माओवादीले गरेको बेवास्ताले पनि माओवादी कमजोर बनेको उनी बताउँछन् ।

‘नेताहरु पनि परिवार र आफन्त केन्द्रित भए,’ उनले भने, ‘जनजीविकाका सवालमा सोचेजस्तो काम गर्न सकेन ।’ उनका अनुसार सशस्त्र द्वन्द्व र विभिन्न निर्वाचनमा अघि सारेका प्रतिबद्धता भुल्दा र पार्टीभित्रको गुठबन्दीले पनि माओवादीप्रति कार्यकर्ताको आकर्षण घटाएको हो ।

कर्णालीबाट संघीय सरकारमा शर्मा र अर्का पूर्व माओवादी नेता शक्तिबहादुर बस्नेत ४/४ पटक मन्त्री भएका थिए भने खड्कबहादुर विश्वकर्मा दुई पटक मन्त्री बने । तर अहिले शर्मा र विश्वकर्माले पार्टी छोडिसकेका छन् । ‘दुवै नेताहरु पार्टी नेतृत्वसँग छुट्टिँदा त्यसको नकारात्मक असर पूर्व माओवादीमा लामो समयसम्म देखिन सक्छ,’ मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले भने, ‘पूर्व माओवादी कहिले कुनैमा र कहिले कुनै पार्टीमा मिल्दा पनि कार्यकर्ताहरु निराश भएका छन्  ।’

कर्णाली सरकारमा माओवादीले दुईपल्ट नेतृत्व गर्‍यो । महेन्द्रबहादुर शाही र राजकुमार शर्मा मुख्यमन्त्री बने भने प्रदेशसभाको पहिलो कार्यकालमा पूर्व माओवादीबाट ११ जना सांसदमध्ये १० मन्त्री र एक जना उपसभामुख भए । दोस्रो कार्यकालमा पनि १३ जनामध्ये एकजना उपसभामुख र ९ जना मन्त्री बनिसकेका छन् । यो कार्यकालमा पूर्व माओवादीका ३ जना मात्र मन्त्री बन्न बाँकी रहेको प्रदेशसभा सचिवालयको तथ्यांक छ ।

स्थानीय तहमा पनि पूर्व माओवादीको प्रभाव कमजोर बनिरहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ३८, माओवादीले ३२ र काग्रेसले २७ प्रतिशत जनमत पाएको थियो । तर २०७९ मा भने माओवादी २३ पालिकामा सीमित बन्यो । २०७९ सालको स्थानीय तह निर्वाचनमा कर्णालीका ७९ स्थानीय तहमध्ये पूर्वमाओवादीले ५ प्रमुख, ५ उपप्रमुख, १८ अध्यक्ष र २० उपाध्यक्ष जितेको थियो । आफ्नो पकड भएकै ठाउँमा पनि गठबन्धन गर्दा पनि जनता पूर्व माओवादीसँग बिच्किएको उपप्राध्यापक लम्सालले बताए । 

शर्माले पार्टी छोड्नु अघिसम्म सबैभन्दा बढी रुकुम पश्चिम र कालीकोटमा माओवादीको सांगठनिक अवस्था बलियो थियो । कालीकोटबाट महेन्द्रबहादुर शाहीले पनि तीन पटक चुनाव जितिसकेका छन् । तर दुवै जिल्लामा नेताहरु विभिन्न समूहमा विभाजित भएकाले आगामी निर्वाचन पूर्वमाओवादीका लागि चुनौतीपूर्ण हुने राजनीतिक विश्लेषक केसीले बताए । 

‘पूर्व समाजवादीको अवस्था पनि दुवै जिल्लामा कमजोर छ,’ उनले भने, ‘त्यसैले पार्टी एकीकरण हुँदा पनि पूर्व माओवादीलाई खासै फाइदा हुने देखिँदैन, त्यसमा पनि गुठबन्दी व्यापक हुँदा आगामी निर्वाचन झन् चुनौतीपूर्ण हुने देखियो ।’ 

माओवादी पूर्व प्रदेश अध्यक्ष विमला केसीले एकतापछि पूर्वमाओवादी झन् बलियो बनेको दाबी गरिन् । ‘पछिल्लो समय छुट्टिनेभन्दा एकतामा आउनेको धेरै बढी छ,’ उनले भनिन्, ‘एकताको केही कुरा अझै टुङ्ग्याउनै बाँकी छ, त्यसपछि विभिन्न अभियान, कार्यक्रम र चुनावकेन्द्रित गतिविधिमार्फत पार्टीलाई कर्णालीको पहिलो बनाउने दिशामा अघि बढ्छौ ।’

कृष्णप्रसाद गौतम गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully