तत्कालीन माओवादीले जनताको काम गर्न सकेन, आत्मालोचना गर्छु : जनार्दन शर्मा 

'प्रलोपा वामपन्थी विचारधारा बोकेको कम्युनिस्ट पार्टी हो।'

मंसिर २२, २०८२

महेश केसी

The then Maoists could not do the people's work, I am self-critical: Janardan Sharma

What you should know

रुकुम पश्चिम — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्। 

उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको बताए । 'भ्रष्टाचारका विरूद्वमा र सुशासनका पक्षमा एवं पार्टी निर्माणका लागि मैले माओवादीमा रहुन्जेल सकेको संघर्ष गरेँ,' उनले भने, 'तर नेतृत्वले मेरो कुरा सुनेर सुधारको बाटोमा जानुको साटो उल्टै मलाई बदला भावले हेर्ने काम भयो र म नयाँ पार्टी निर्माण गरेर जनताको काम गर्न आएको छु।' 

आफूलाई भागेको र बाटो बिराएको एवं जनतालाई धोका दिएको भन्ने आरोपको खण्डन गर्दै शर्माले आफू सधैँ जनताको साथमा रहेको र रहिरहने बताए । साथै उनले हरबखत रुकुमको विकास र समृद्धिको पक्षमा रहेर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रलोपाको सट्टामा माओवादी केन्द्र र पुरानै चुनाव चिह्न लिन खोजेको तर निर्वाचन आयोगले नदिएका कारण आँखा चुनाव चिह्न लिएर जनतामाझ आएको बताए । उनले भने, 'प्रलोपा वामपन्थी विचारधारा बोकेको कम्युनिस्ट पार्टी हो।'

साविक माओवादी केन्द्रमा हुँदा निर्विल्पक शक्तिशाली मानिएका जनार्दन शर्मा पार्टी विभाजनपश्चात धेरै नेता/कार्यकर्ताको संख्या एकताको पक्षमा गएपछि उनी रक्षात्मक अवस्थामा पुगेका छन् । 

पहिलो संविधानसभाको निर्वाचनयता सबै निर्वाचनहरू जितेर जिल्लाको ठूलो दलका रूपमा स्थापित भएको तत्कालीन माओवादी केन्द्रको विभाजन त्यसमा पनि जनार्दन शर्मा नै उक्त एकता प्रक्रियामा सहभागी नभएपछि आसन्न निर्वाचनमा जनमत कसको पक्षमा हुने हो भन्ने चासो सबैतिर बढेको छ । यसकारण अगामी चुनावमा रुकुम पश्चिमबाट उम्मेदवार हुने जो कोहीलाई पनि सहज जित हात पर्ने सम्भावना न्यून छ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully