ईश्वरको अवधारणापत्र : सब ठिक छ भन्ने अतिवाद स्थिरता होइन पतनको सुरुवात हो

ईश्वर पोखरेलले पेस गरेको अवधारणापत्रमा न्युयोर्कका नयाँ मेयर जोहरान ममदानीको उदयदेखि डिजिटल प्लाटफर्मको एकाधिकार र जेन-जी आन्दोलनपछिका परिदृश्यसम्मका विषय समेटिएका छन् ।

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

God's Concept Paper: The extremism that says everything is fine is not stability but the beginning of decline

What you should know

काठमाडौँ — अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी कार्यलयमा बुझाएका छन् ।

सोमबार च्यासलस्थित पार्टी कार्यालयमा पुगेर पोखरेल समूहले अवधारणापत्र बुझाएको हो । उनले बुझाएको ४० पृष्ठ लामो अवधारणापत्रमा हालै मात्र पुँजीवादको केन्द्रमा समाजवादी विचार पुन: जागृत भएको भन्दै यसको संकेत अमेरिकाको न्युयोर्कको मेयरका रुपमा निर्वाचित जोहरान ममदानीको विजयी भएको विषयदेखि आर्थिक केन्द्र कसरी युरोप र अमेरिकाबाट क्रमश: चीन, भारत र पूर्वी एसियाली देशहरुमा स्थानान्तरण हुने क्रममा छ भन्ने विषय पनि समेटिएको छ । 


अवधारणापत्रमा नेपालले पछिल्ला तीन दशकमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातका क्षेत्रमा गरेको प्रगतिका बाबजुद पनि रोजगारीका सिर्जनामा शिथिलता देखिएको र उद्योगमा  लगानी गर्नभन्दा अल्पकालमा नाफा कमाउन व्यापार गर्ने प्रवृत्ति देखिएको विषयसम्म उल्लेख छ । अवधारणापत्रमा जलवायु परिवर्तनका कारण सिर्जित समस्या र अध्यक्ष ओली नेतृत्वको सरकारले २०८२ जेठमा गरेको सगरमाथा संवादको सफलतासम्मका विषय समेटिएका छन् । 

अवधारणापत्रमा डिजिटल प्लाटफर्महरुले समाजमा पारेको प्रभावबारे पनि समेटिएको छ । अवधारणापत्रमा लेखिएको छ, 'समाजको वर्ग विभाजनमा आइरहेका परिवर्तनको राम्रोसँग विश्वलेषण भएको छैन । स्वयं वर्गको परिभाषा नयाँ डिजिटल प्लाटफर्महरुले सिर्जना गरिरहेका अवसर त्यसको उत्पादन सम्बन्धका विषयमा नयाँ भाष्यको आवश्यकता बढ्दै गएको छ ।'

शक्ति सन्तुलनको नयाँ वैश्विक अभ्यासबारे पनि अवधारणापत्रमा उल्लेख छ । विश्वको शक्ति सन्तुलन बदलिँदै गएको भन्दै अमेरिकाका स्वार्थहरु भारत र चीन दुवैसँग टक्कराउने र त्यसको असर नेपालमा पर्ने विषय पनि यसमा समेटिएको छ । लेखिएको छ, 'आफ्नो एकल महाशक्तिको हैसियत बचाइरहन, राजनीतिक तथा आर्थिक मूल्यहरुको औचित्य साबित गरिरहन प्रयत्नरत अमेरिकाका स्वार्थहरु भारत र चीन दुवैसँग टक्कराउँदैछन् । नेपाल यी तीनवटै विश्व तथा क्षेत्रीय शक्तिको स्वार्थ जोडिएको भूगोलमा रहेकाले भू–राजनीतिक दृष्टिले संवेदनशील स्थितिमा छ ।' अवधारणापत्रमा यो पृष्ठभूमि बाँधेर भू-राजनीतिक घर्षण बढ्दै गएकाले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रता जोखिममा छन् भन्ने कुरालाई भदौ २४ का घटनाहरुले पुष्टि गरेको भनेर लेखिएको छ। 

अवधारणापत्रमा जेन-जी आन्दोलनमा समीक्षा भनेर छुट्टै उपशीर्षकमा व्याख्या गरिएको छ । यो आन्दोलनपछि निर्मित चेतनाको नैतिक दबाब झेलिरहेका नेता र कार्यकर्तामाझ आवाज दिनुपर्ने बेला भएको भन्दै अवधारणापत्रमा लेखिएको छ– 'जारी समस्याको सम्पूर्ण दोष र जिम्मा हामीमाथि थोपरेर हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउन लगाइएका आरोपहरुको वस्तुनिष्ठ तरिकाले खण्डन गर्नुछ ।' 

अवधारणापत्रमा भदौ २३ र २४ का घटनालाई फरक तरिकाले हेर्नुपर्ने भन्दै २४ गते भएका घटनाक्रमबारे विश्लेषण गरिएको छ । लेखिएको छ– 'सम्पूर्ण घटनाक्रम  र त्यसका प्रकृतिहरुलाई विश्लेषण गर्दा आजको अवस्था संवैधानिक दृष्टिकोणबाट प्रतिगमन हो भन्नेमा दुईमत छैन । अवधारणात्रमा उनले लेनिनको भनाइ सापटी लिएर 'सब ठिक छ' भन्ने अतिवाद स्थिरता होइन पतनको सुरुवात भएको उल्लेख गरिएको छ । त्यसमा लेखिएको छ– 'भाद्र २३ र २४ गतेका घटनाको अलग अलग ढंगले वस्तुगत तथा तथ्यपरक ढंगले निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गरिनु पर्दछ ।'

कान्तिपुर

Link copied successfully