अध्यक्ष ओलीले सक्रिय राजनीतिबाट अवकाश लिनुपर्छ : योगेश भट्टराई

'गएको ११-१२ वर्षमा उहाँले पार्टीलाई दिन नसकेको योगदान फेरि पनि अध्यक्ष भएर अब अर्को पाँच वर्षमा दिनुहुन्छ भन्ने मलाई लाग्दैन ।'

मंसिर २२, २०८२

कान्तिपुर संवाददाता

Chairman Oli should retire from active politics: Yogesh Bhattarai

What you should know

काठमाडौँ — एमाले सचिव योगेश भट्टराईले एमाले नेतृत्व परिवर्तन गर्नुपर्ने समयमा पुगेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सक्रिय राजनीतिबाट अवकाश लिनुपर्ने बताएका छन् ।

ओली २०७१ सालेदेखि निरन्तर पार्टी नेतृत्वमा रहेको भन्दै जेन-जी विद्रोहपछिको बदलिँदो परिस्थितिमा नेतृत्व रुपान्तरण गर्नैपर्ने उनले बताएका छन् ।

काठमाडौं पोस्टसँग कुरा गर्दै उनले भने,  'फेरि पनि केपी ओली नै अध्यक्ष भएर गएको ११-१२ वर्षमा उहाँले पार्टीलाई दिन नसकेको योगदान अब अर्को पाँच वर्षमा दिनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण उहाँले ससम्मान पार्टीबाट र सक्रिय राजनीतिबाट अवकाश लिनु उहाँको निम्ति पनि श्रेयस्कर हुन्छ ।' 

उनले पुराना पार्टीहरुलाई पुरानै नेतृत्व कायम राखेर जनविश्वास पुनर्जागृत गर्न कठिन हुने बताउँदै नेतृत्वलाई नयाँ ढंगले पुर्नसंरचना गर्नुपर्ने बेला आएको बताए । उनले पार्टीभित्रको आन्तरिक जीवन पारदर्शी र समावेशी हुनुपर्ने बताउँदै ओलीको नेतृत्वमा एमाले धेरै नै व्यक्तिकेन्द्रित भएको टिप्पणी समेत गरेका छन् । उनले भने, 'हामीले सामूहिकता भन्या छौं । तर त्यो सामूहिकता कमजोर हुँदै गयो र पार्टीचाहिँ अलि बढी व्यक्ति केन्द्रित हुँदै गयो । सबै कुरा पार्टी अध्यक्षमा केन्द्रित हुँदै गएर पावर चाहिँ एकदमै सेन्ट्रलाइज हुँदै गयो।' 

सचिव भट्टराईले एमालेले हालै मात्र पार्टीले गठन गरेको युथ भोलेन्टियर फोर्सको औचित्यमाथि पनि प्रश्न गरेका छन् । उनले पार्टीभित्र युवा संघ र विधार्थी संघ हुँदाहुँदै फोर्स गठन जसरी गरियो, त्यसको प्रस्थानविन्दु नै गलत भएको बताएका छन् । उनले भने, 'यो नेकपा एमालेले लिइरहेको जनताको बहुदलीय जनवाद र आज हामीले अभ्यास गरेको राजनीतिक परिवेशसँग मेल खाँदैन ।'

उनले संविधानको पक्षधर पार्टीले कुनै बल प्रयोग गर्ने सेन्स आउने खालका संगठन बनाउन नहुने बताउँदै भने, 'यो नेकपा एमालेले लिइरहेको जनताको बहुदलीय जनवाद र आज हामीले अभ्यास गरेको राजनीतिक परिवेशसँग मेल खाँदैन ।' 

कान्तिपुर

Link copied successfully