जसपा नेपालको पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार तीन दिनदेखि लगातार देशव्यापी रूपमा जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन एवं धर्ना दिँदै आएको छ ।
What you should know
काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालले देशभरकै जिल्ला प्रशासन कार्यालय अगाडिधर्ना र विरोध प्रदर्शन गरेको छ । २८ बुँदै माग सम्बोधनका लागि सरकारलाई दबाब दिन प्लेकार्ड र ब्यानरसहित जसपा नेपालले देशव्यापी रूपमा प्रशासन कार्यालय अगाडि आज शान्तिपूर्ण धर्ना एवं विरोध प्रदर्शन गरेको हो ।
जसपा नेपालको पूर्वघोषित आन्दोलनको कार्यक्रमअनुसार तीन दिनदेखि लगातार देशव्यापी रूपमा जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन एवं धर्ना दिँदै आएको छ ।
सअघि, जसपा नेपालले २८ बुँदे माग सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यही मंसिर १० गतेदेखि जसपा नेपालले माग सम्बोधनका लागि देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन स्वरूप धर्ना, विरोध प्रदर्शन, कोणसभा गर्दै आएको छ ।
जसपा नेपालले संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुपर्ने, राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गर्दै आएको छ ।
यसैगरी, जेन-जीले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गरिनुपर्ने, जेन-जी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण, भए गरेका हिंसा, हत्या, आगजनी विध्वंश जस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न उसले माग गरेको छ ।
शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य, किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिँचाइ, मल खाद, बीउ–बिजन, कीटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनु जस्ता माग जसपा नेपालले उठाएको छ ।
