प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छ : ओली

ओलीले सम्पत्ति शुद्धिकरण विभाग प्रमुखलाई जबरजस्ती हटाएर आफूलाई फसाउने योजनामा प्रधानमन्त्री कार्की लागेको भन्दै सरकारमाथि गम्भीर आरोप लगाए।

मंसिर २०, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister is pressuring me to arrest him: Oli

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन्।

शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धिकरण विभागमा नेतृत्व नै परिवर्तन गरेको जिकिर समेत गरे।

उनले सम्पत्ति शुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकूलको व्यक्ति ल्याएको समेत बताए।

अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीजी भन्नु हुन्छ– प्रमाण तयार गर्नुस्, प्रमाण तयार। मैले थुप्रै ठाउँमा भनेको छु– प्रधानमन्त्रीजीले सम्पत्ति शुद्धिकरण विभागका प्रमुखलाई बोलाएर ३ पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस्, गिरफ्तार गर्नुपर्‍यो भन्ने माग गर्नुस् भनेर अनेक दबाब दिनुभयो। त्यहाँका डाइरेक्टरले– यस्तो झुटो काम म गर्न सक्दिनँ, गैरकानुनी काम पनि गर्न सक्दिनँ, कानुनमा यस्तो छैन, र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिनँ। अब कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाइरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाइयो। अर्को डाइरेक्टर ल्याइयो।’

अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully