प्रधानमन्त्री कार्कीले शुक्रबार भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गरिन् ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् ।
प्रधानमन्त्रीले शुक्रबार बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
उनले भनिन्, 'चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन ।'
उनले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गरिन् ।
उनले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह पनि गरिन् ।
जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उनको भनाइ छ ।
