कम्तीमा २० प्रतिशत मत प्राप्त गरे मात्रै सरकारमा सहभागी हुने अध्यक्ष प्रसाईंले बताए ।
What you should know
धनगढी — नवगठित गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा देशभरका १ सय ६५ वटै क्षेत्रमा उमेदवारी दिने घोषणा गरेको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै पार्टी अध्यक्ष दिनेश प्रसाईंले प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनतर्फ उमेदवारी दिने तयारी भएको बताए । त्यसका लागि उम्मेदवार छनोटको काम भइरहेको उनको भनाइ छ ।
‘पुराना पार्टीका इमानदार र सक्षम व्यक्ति पनि हाम्रो पार्टीबाट उम्मेदवार हुन सक्छन् । स्वतन्त्र व्यक्तिलाई पनि समेट्दै जान्छौं,’ उनले भने, ‘सिद्धान्त र एजेन्डा मिल्ने अन्य पार्टीसँग पनि सहकार्य हुन सक्छ । प्रत्यक्षतर्फ १६५ वटै क्षेत्र र समानुपातिक तर्फ ११० वटै उमेदवारी दिन्छौं ।’
कम्तीमा २० प्रतिशत मत प्राप्त गरे मात्रै गलोपा सरकारमा सहभागी हुने अध्यक्ष प्रसाईंले बताए । ‘निर्वाचनमा २० प्रतिशत मत प्राप्त गर्न नसके प्रतिपक्षमा नै बस्छौं,’ उनले भने । नेपालमा पटकपटक राजनीतिक आन्दोलन र परिवर्तन भए पनि जनताको आकांक्षाअनुसार आर्थिक र संरचनात्मक रुपान्तरण हुन नसकेको उनले जनाए । जनचाहना पूरा गर्न गलोपाले काम गर्ने उनको भनाइ छ ।
गत कात्तिक २४ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाए पनि गलोपाले विभिन्न प्रदेशमा पुगेर एजेन्डा र सोचपत्र सार्वजनिक तथा घोषणापत्र निर्माणका लागि सुझाव संकलन गर्दै आएको छ । त्यसै क्रममा नेताहरु धनगढी आइपुगेका छन् । केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेत, राधेश पन्त, सतिश जोशी, गोपाल शाह, सन्तोष विष्ट, हेमेन्द्र बोहरालगायत सहभागी कार्यक्रममा पर्यटन, ऊर्जा, कृषि शिक्षा, स्वास्थ्य, उड्डयन क्षेत्रको विकासका बारेमा छलफल भएको छ ।
