प्रधानमन्त्री कार्कीले ज्यापु दिवस समारोहमा सरकार आउँदो फागुन २१ गते निर्वाचन गर्न पूर्ण तयारीमा रहेको र सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताइन्।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गरी युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकारको प्रमुख दायित्व भएको बताएकी छन् ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौँमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पूर्ण तयारी गरेको जानकारी दिइन् ।
उनले जेन–जी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै, भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गाँस-बास-कपासको ग्यारेन्टी जस्ता मागहरू पूरा गर्न सबै पक्ष कटिबद्ध हुनुपर्नेमा जोड दिइन्।
उनले भने, ‘भदौ २३ र २४ को जेन–जी आन्दोलनसँगै भएका घटनाहरूबाट हामीले एउटा महत्त्वपूर्ण पाठ सिकेका छौँ। मुलुकका युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना तथा आम जनताका आधारभूत आवश्यकता—रोजगारी, गाँस, बास, कपास—को सुनिश्चितताको माग गरेका छन्। ती मागहरू पूरा गर्न सबैले कटिबद्ध भएर आ-आफ्नो स्थानबाट लाग्न आवश्यक छ। यसका अतिरिक्त सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासतर्फ अघि बढाउनुपर्ने हाम्रो दायित्व हो। त्यसैले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार पूर्ण रूपमा तयारीमा जुटेको छ। यो अभियान सफल पार्न सबै नेपालीको सहयोग आवश्यक छ।’
प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षणलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता पनि औँल्याइन् । उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना व्यक्त गरिन् ।
