पार्टी घोषणासभामा मन्त्री कुलमान घिसिङलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको पार्टीले घोषणापत्र पनि सार्वजनिक गरेको छ ।
What you should know
काठमाडौँ — उज्यालो नेपाल पार्टी घोषणा गरिएको छ । राष्ट्रिय सभागृहमा बुधबार पार्टी घोषणा गरिएको हो । मन्त्री कुलमान घिसिङ अग्रसरतामा यो पार्टी गठन भए पनि उनी हालसम्म कुनै पदमा छन् ।
पार्टी घोषणासभामा मन्त्री कुलमान घिसिङलाई प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको पार्टीले घोषणापत्र पनि सार्वजनिक गरेको छ ।
नेपालको संविधानका उपलब्धिलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष, सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा सो पार्टीका सैद्धान्तिक दृष्टिकोण रहेका छन् । पार्टी निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेको छ । चुनाव चिह्न बलेको चिम रहेको छ ।
पार्टी घोषणासभालाई बुधबार सम्बोधन गर्दै घिसिङले जनताको तहबाट नै परिवर्तनलाई संस्थागत गर्नका लागि एकजुट भएर लाग्नुपर्ने बताए । ‘परिवर्तनलाई संस्थागत कसरी गर्ने भन्ने महत्त्वपूर्ण छ । देशलाई कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने महत्त्वपूर्ण छ । यसबाट अब देशले निकास पाउनुपर्छ,’ उनले भने, ‘फागुन २१ को चुनाव त हुन्छ तर चुनावपछि कसको सरकार आउँछ भन्ने प्रश्न गम्भीर छ । त्यही भएर यो उज्यालो पार्टी जन्मिएको होला । अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्छ ।’
घिसिङले प्रधानमन्त्रीदेखि तल्लो तहसम्मका व्यक्तिहरू सही हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनुपर्छ । सही व्यक्ति, सही समयमा, सही ठाउँमा हुनुपर्छ, त्यसपछि देश परिवर्तन हुन्छ । त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्छ । सही व्यक्ति छानिएनन्, आफ्ना व्यक्तिहरू छानिए भने देश परिवर्तन हुँदैन,’ उनले भने, ‘ठूल्ठूला भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिमा असफल हुन्छ । भाषण हैन डेलिभरी दिनुपर्छ, परिणाममुखी राजनीति हुनुपर्छ ।’ जनताको विश्वास गुमेपछि नेतृत्व असफल हुने पनि घिसिङको भनाइ थियो ।
कार्यक्रमलाई नागरिक अगुवा सुन्दरमणि दीक्षित, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलगायतले पनि सम्बोधन गरेका थिए । मन्त्री श्रेष्ठले जेन–जी आन्दोलनपछि आएका राजनीतिक शक्ति एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन् । आफू जहिले पनि नयाँ शक्तिहरूबीचको एकताका लागि लाग्ने बताइन् । ‘हामी एकता भएर जानुपर्छ । छुट्टाछुट्टै जाने हो भनेको पुराना पार्टीहरूलाई रेड कार्पेट लगाएर जानु हो,’ उनले भनिन्, ‘मन फराकिलो पारेर जानुपर्छ । फरक–फरक जाने होइन ।’
पुराना पार्टीहरूलाई सत्तामा फर्किनबाट रोक्नका लागि नयाँ शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । ‘फरक–फरक किन हिँड्ने ? पुरानो पार्टीको संस्कार निषेध गर्नका लागि सबै जना एकै ठाउँमा जानुपर्छ । सबै जनाले सुमना कहाँ छ भनेर सोध्नुभयो, सुमना एकतामा छ । एकता हुनुपर्छ ।’ अबको राजनीतिक दलको यात्रा विधि, सुशासनको स्थापना तथा भ्रष्टाचार, नातावाद, कृपावाद र बेथितिको अन्त्य भएको सुमनाको भनाइ थियो ।
