दलका विकृति-विसंगति अन्त्य गर्दै जनजीवन रूपान्तरणतर्फ अघि बढ्छौँ : नारायणकाजी श्रेष्ठ

'दलहरूमा देखिएका विकृति–विसंगतिविरुद्ध दृढतापूर्वक लाग्छौँ, आवश्यक परे पार्टी चलाउने तरिका नै बदल्छौँ।'

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

We will move forward towards transforming people's lives by ending party distortions and anomalies: Narayan Kaji Shrestha

विराटनगर — नेकपा नेता नारायणकाजी श्रेष्ठले दलभित्रका विकृति–विसंगति अन्त्य गर्दै देशलाई राजनीतिक स्थिरता, सुशासन र सामाजिक–आर्थिक रूपान्तरणतर्फ अघि बढाउने लक्ष्यसहित पार्टी एकता भएको स्पष्ट पारेका छन्। विराटनगरमा आयोजित ‘एकता सन्देश सभामा’ उनले कम्युनिस्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याउनु समयको माग भएको बताए।

श्रेष्ठले अहिलेको परिस्थितिमा दल बदल्ने होड होइन, पार्टीलाई सुधार्ने प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै भने, 'दलहरूमा देखिएका विकृति–विसंगतिविरुद्ध दृढतापूर्वक लाग्छौँ, आवश्यक परे पार्टी चलाउने तरिका नै बदल्छौँ।'

उनका अनुसार पार्टी एकताको मूल उद्देश्य सत्ता प्राप्ति मात्र नभई राष्ट्रिय एकतालाई सुदृढ बनाउने, संविधानको रक्षा गर्ने र आवश्यकता अनुसार उसको परिमार्जनतर्फ अघि बढ्ने हो। उनले भने, 'संविधानको रक्षा हाम्रो पहिलो दायित्व हो। तर, समयले मागेअनुसार आवश्यक संशोधनबाट पछि हटिँदैन।'

श्रेष्ठले राजनीतिक परिवर्तनलाई जनताको जीवनमा पहुँचाउने अबको जिम्मेवारी कम्युनिस्ट शक्तिमाथि रहेको बताए। सामाजिक–आर्थिक रूपान्तरण, सुशासन, समृद्धि र सामाजिक न्याय पार्टीको पहिलो प्राथमिकता भएको उनको भनाइ छ। देशभर फैलिएको जेन-जी विद्रोहले उठाएका न्याय, समानता र जीवन–स्तर सुधारका मुद्दालाई पूरा गर्दै अघि बढ्नु पार्टीको जिम्मेवारी भएको उनले बताए।

‘पहिले नेताले आफू बदलिनुपर्छ’

पार्टीभित्र व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठले नेताहरूले आफ्नै व्यवहार सुधार्नु पर्ने, भ्रष्टीकरणको अन्त्य गर्नुपर्ने र जनतासँग टुटेको सम्बन्धलाई पुनः सुदृढ बनाउँदै लैजानुपर्ने बताए।

उनले जोड दिए, 'पार्टीभित्रको भ्रष्टाचार अन्त्य गर्छौँ, जनतासँगको सम्बन्ध पुनः गहिरो बनाउँछौँ। परिवर्तन जनताकै जीवनमा देखिनुपर्छ।'

कान्तिपुर संवाददाता

Link copied successfully