एमाले दक्षिणपन्थी भयो, अब क्रान्तिकारी समाजवादको एजेन्डा अघि बढाउँछौँ : पूर्वप्रधानमन्त्री खनाल

'युवालाई देशमै रोजगारी दिने नयाँ ढंगको औद्योगिकीकरण अब अपरिहार्य छ।'

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

UML has become right-wing, now we will advance the agenda of revolutionary socialism: Former Prime Minister Khanal

विराटनगर — पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेले अब समाजवादको बाटो छाडिसकेको दाबी गरेका छन्। विराटनगरमा सोमबार नेकपाको एकता सन्देश सभामा सम्बोधन गर्दै नेकपाका नेता खनालले एमालेलाई अब 'साँचो अर्थमा दक्षिणपन्थी पार्टी' का रूपमा बुझिने अवस्था आएको बताए । 

खनालले पटक–पटक कम्युनिस्ट सरकार बने पनि भूमिसुधार र कृषि क्रान्ति जस्ता क्रान्तिकारी एजेन्डा पूरा नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै भने, 'सत्तामा पुगेपछि हामीले बाचा बिर्सियौँ। अब सत्ता पाएपछि भूमि सुधार गर्छौँ, कृषि क्रान्ति गर्छौँ भनेर दृढ संकल्प लिनुपर्छ।'

‘देशलाई नर्कजस्तै बनाइएको छ’

खनालले भदौ २४ को आन्दोलनका क्रममा देश नै ‘खरानी’ बनेको स्मरण गर्दै वर्तमान अवस्थालाई चरम राजनीतिक अस्थिरता र शासनहीनताको परिणाम बताए। युवाशक्ति व्यापक रूपमा विदेश पलायन हुनु चिन्ताजनक भएको उनको टिप्पणी थियो। उनले भने, 'युवालाई देशमै रोजगारी दिने नयाँ ढंगको औद्योगिकीकरण अब अपरिहार्य छ।'

खनालले नयाँ एकीकृत पार्टीले ‘नेपाली विशेषतासहितको समाजवाद’ निर्माण गर्ने स्पष्ट दिशासहित अघि बढेको बताए। नेपाली कम्युनिस्ट पार्टी नै अबको समाजवादी क्रान्तिको नायक बन्ने पनि खनालको भनाइ छ । 

सम्बोधनमा उनले देशमा बनेका सबै अव्यवस्थाका अन्त्यका लागि सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी अभियान मुख्य कार्यसूची भएको बताए। खनालले भने, 'यी काम सरकार बनाइराखेर मात्र सम्भव छ। त्यसैले अब जनतालाई गोलबद्ध गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा लाग्नुपर्छ।'

कान्तिपुर

Link copied successfully