झापा २ मा खुलातर्फ ५ जना प्रतिनिधि छनोट हुनुपर्नेमा बहालवाला मन्त्रीदेखि, सांसद, जिल्ला अध्यक्ष, नगर अध्यक्ष, मेयरसमेत १९ जना प्रतिस्पर्धामा छन् ।
What you should know
झापा — विवादका कारण रोकिएको झापा निर्वाचन क्षेत्र नं २ मा यसअघिको मतगणना रद्द गरी पुनः सुरुवाती चरणबाटै गणना सुरु भएको छ ।
गत आइतबार बिहानको राति विवाद हुँदा मतगणना रोकिएको थियो । त्यसपछि आज दिउँसोबाट सुरुवाती चरणबाटै मतगणना सुरु भएको हो ।
५ वटा निर्वाचन क्षेत्र रहेको झापामा क्षेत्र नं २ बाहेक अन्य निर्वाचन क्षेत्र १, ३, ४ र ५ सबैको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । तर, कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, एमाले झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, कोशी प्रदेशसभा सदस्य चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, एमाले विर्तामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतका नेता महाधिवेशन प्रतिनिधि बन्नका लागि चुनावी मैदानमा होमिएको निर्वाचन क्षेत्र नं २ मा भने विवाद हुँदा मतगणना रोकिएको थियो ।
यहाँ एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि बन्न पार्टीका प्रदेशस्तरका नेतादेखि नगरका प्रभावशाली नेता चुनावी मैदानमा छन् । जिल्ला निर्वाचन विभागका संयोजक दीपेन्द्र लम्सालका अनुसार अहिलेसम्म १२ सय मत गणना भइसकेको छ भने बेलुका साढे ६ बजेसम्म अन्तिम नतिजा सार्वजनिक हुनेछ । उनका अनुसार पहिलेको गणनामा शंका उत्पन्न भएपछि त्यसलाई रद्ध गरी पुनः सुरुवाती चरणबाटै मत गणना गर्न सुरु गरिएको हो ।
झापा २ मा खुला तर्फ ५ जना महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्नेमा १९ जना प्रतिस्पर्धामा छन् भने बहालवाला मन्त्रीदेखि, सांसद, जिल्ला अध्यक्ष, नगर अध्यक्ष, मेयरको प्रतिस्पर्धा छ ।
यहाँ महाधिवेशन प्रतिनिधि छनोटमा महिला र युवातर्फको नतिजा भने सार्वजनिक भएको छ । जसमा महिलातर्फ पवित्रा पाठक, पवित्रादेवी महतारा प्रसाई र सुनिता खरेल प्रतिनिधिमा निर्वाचित भएका छन् भने युवातर्फ खगेन्द्रराज आङ्देम्बे प्रतिनिधिमा निर्वाचित भएका छन् ।
