‘मौनता साँध्नेहरू ढुंगा हुन्, उनीहरू मूर्ति बनाउन काम लाग्छन् । नबोल्नेलाई नेतृत्वमा ल्याउन हुँदैन ।’-सूर्य थापा
What you should know
भैरहवा — एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य सूर्य थापाले पार्टीभित्रको मौन प्रवृत्ति घातक हुने बताएका छन् । अधिकांश पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको मौनता केका लागि भन्ने स्पष्ट नभएको बताए । भैरहवामा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा एकथरिले पार्टी जोगाउनुपर्छ भनेर ‘डिफेन्स’ गरिरहेका बेला मौनता साँध्ने प्रवृत्ति हाबी भएको उनले बताए ।
‘अहिले पार्टीको पक्षमा बोल्ने औंलामा गनिने गरेका छन्,’उनले भने, ‘मौनयात्रीका कारण पार्टीलाई अगाडि बढाउन सहज होला ?’ यस्तो अवस्थामा पार्टीप्रति प्रतिवद्ध, क्रियाशील र सक्रिय नेतृत्व आवश्यक रहेको उनको भनाई थियो । पार्टी हित र समग्र अग्रगतिका लागि बोल्ने नेता चाहिएको उनले औंल्याए । पार्टीका पदाधिकारीमा अरुलाई कुरा बुझाउन सक्ने ल्याकत जरुरी हुने उनले बताए ।
‘मौनता साँध्नेहरू ढुंगा हुन्, उनीहरू मूर्ति बनाउन काम लाग्छन्,’उनले भने, ‘नबोल्नेलाई नेतृत्वमा ल्याउन हुँदैन ।’ वर्तमान नेतृत्वलाई लिएर टिकाटिप्पणीप्रति लक्षित गर्दै उनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिने बताए । ‘ओलीलाई बिदाई गर्ने कुरा असम्भव हो,’उनले भने, ‘एमाले फुटाएर, विभाजन गरेर भए पनि कमजोर तुल्याउन लागिपरेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन् ।’
पार्टीभित्र भइरहेको ओलीविरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनले बताए । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ ।’
मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ थियो । यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका भीम रावलले जम्मा २ सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपालि महाधिवेशनमा उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने बताए ।
