ओलीले जनतासामु माफी माग्नुको सट्टा उल्टै आफ्ना गल्ती नस्वीकारेको प्रति उनको असन्तोष थियो ।
What you should know
पोखरा — नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको राजनीतिक घटनाक्रमको कडा आलोचना गर्दै राष्ट्रिय सुरक्षा, स्वाधीनता र जनताका धरोहर जोगाउन नसक्ने नेतृत्वको अब कुनै औचित्य नरहेको बताएका छन् ।
नेकपाको एकता सन्देश सभालाई आइतबार सम्बोधन गर्दै रावलले अहिलेको कम्युनिष्ट एकता देशलाई विनासबाट जोगाउने र स्वाभिमानी नेपाल निर्माण गर्ने संकल्पका साथ आएको स्पष्ट पारे ।
ओलीले जनतासामु माफी माग्नुको सट्टा उल्टै आफ्ना गल्ती नस्वीकारेको प्रति उनको असन्तोष थियो । उनले एमालेका नेता, कार्यकर्ता र ओलीतर्फ लक्ष्य गर्दै भने, ‘कम्युनिष्टहरू तपाईंहरू अब केको खरानी घस्नलाई प्रतिनिधि हुनुबाट रोकिरहनुभएको छ ? तपाईंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै दुई तिहाइको खरानी घस्नुभयो, नेकपा एमालेको खरानी घस्नुभयो । हाम्रा ऐतिहासिक धरोहर जलाएर खरानी घस्नुभयो । अब केको खरानी घस्न बाँकी छ ?’
देशको प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत नबोलाई बालुवाटार छोड्न नमानेको र अन्ततः हेलिकप्टर चढेर भाग्नुपरेको घटना राष्ट्रिय लज्जाको विषय भएको उनको भनाइ थियो । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका केन्द्रहरू तथा स्वाधीनताका प्रतीकहरू जलाउँदा पनि नेतृत्वले भूमिका खेल्न नसकेको भन्दै ऊनले आक्रोश व्यक्त गरे ।
‘देशको प्रधानमन्त्रीले न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलायो, न केन्द्रीय सुरक्षा समितिको बैठक बोलायो... जब त्यो ढोका खुलेर त्यहाँ आगो सल्कन थाल्यो, हेलिकप्टर चढेर उहाँ भाग्नुभयो,’ उनले भने, ‘एउटा देशको प्रधानमन्त्री, देशको गृहमन्त्री, त्यो देशको यस्तो कमान्डर हो, जो आफू खरानी हुन सक्छ, तर देशलाई खरानी हुनुबाट जोगाउँछ, जोगाए त ?’ ओलीको दम्भ, अहंकार र कुशासनले गर्दा नेपालको शिर झुकेको र नेपालीको आत्मा रोएको आरोप उनले लगाए ।
