फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ नेतृत्व र नीतिसहित नविन ऊर्जा लिएर जानुपर्ने र त्यसका लागि निर्वाचन अगाडि महाधिवेशन अपरिहार्य रहेको कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले बताएका छन् ।
काठमाडौँ — कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले तत्काल विशेष महाधिवेशनको मिति तोक्न माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पुसभित्र नियमित महाधिवेशन सम्भव नभएकाले विशेष महाधिवेशनको मिति निर्धारण गर्न केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएका हुन् ।
'पुसभित्र १५ औं महाधिवेशन सुनिश्चित हुने विश्वासिलो आधार नभएको विद्यमान अवस्थामा धारा १७२) बमोजिम अनिवार्य रुपमा सोही मितिमा विशेष महाधिवेशन सम्पन्न गर्ने सुनिश्चित गरियोस् र तत्काल मिति तय गरोस्' विज्ञप्तिमा भनिएको छ, 'विशेष महाधिवेशनसम्बन्धी विधानको व्यवस्था केन्द्रीय कार्य समितिको छनोटको विषय होइन बाध्यकारी हो । '
फागुन २१ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ नेतृत्व र नीतिसहित नविन ऊर्जा लिएर जानुपर्ने र त्यसका लागि निर्वाचन अगाडि महाधिवेशन अपरिहार्य रहेको उनीहरुले विज्ञप्तिमार्फत माग अगाडि सारेका छन् ।
हस्ताक्षर गर्नेमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नवलपुरका सभापति महेन्द्रध्वज जिसी, बैतडीका सभापति चतुरबहादुर चन्द, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, धनकुटाका सभापति दिनेश राई, भोजपुरका सभापति विनोद वान्तवा र तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे छन् । यस्तै, हस्ताक्षर गर्नेमा सुनसरीका सभापति केदार भण्डारी, उदयपुरका सभापति हिमाल कार्की, सप्तरीका सभापति रामदेव शाह, रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, काठमाडौँका सभापति सबुज बानियाँ, ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामालगायत हुन् ।
उनीहरुले अहिलेको संवेदनशील समय हेरी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा महिनौंसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा कांग्रेस नेतृत्व अनिर्णयको बन्दी बन्नु अत्यन्त दुःखद् विषय भएको बताएका छन् ।
गत भदौ २३-२४ को जेन–जी आन्दोलनपछिको विषम राजनीतिक परिस्थितिमा असोज २८ देखि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै अनिर्णित छ । डेढ महिनासम्म पनि बैठकले १५औं महाधिवेशनको कार्यतालिका टुंग्याउन सकेको छैन ।
