पुनर्गठित नेकपा एकीकृत समाजवादी र संयुक्तको बिहीबार एकता भएपछि पहिलो पटक आइतबार बसेको बैठकले निर्वाचनमा ध्यानकेन्द्रित गर्न आग्रह गरेको छ ।
What you should know
काठमाडौँ — नेकपा (संयुक्त) ले फागुन २१ घोषणा भएको निर्वाचन निष्पक्ष, भयरहीत हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
पुनर्गठित नेकपा एकीकृत समाजवादी र संयुक्तको बिहीबार एकता भएपछि पहिलो पटक आइतबार बसेको बैठकले निर्वाचनमा ध्यानकेन्द्रित गर्न आग्रह गरेको छ ।
‘फागुन २१ गतेको निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहीत हुने कुराको प्रत्याभूत गराउन माग गर्दछ,’ संयुक्तले सरकारसमक्ष छ, ‘नेपाली युवाहरुलाई नेपालमा नै गरीखाने वातावरण बनाउन रोजगारीको अवसर सिर्जना गर्न सरकारसँग माग गर्दछ । वैदेशिक रोजगारमा रहेकाहरूको सुरक्षा र उचित पारिश्रमिकको व्यवस्था मिलाउन साथै वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरुलाई सरकारले कारबाही गर्न माग गर्दछ ।’
संयुक्तले सरकारी सेवालाई पूर्णरुपमा अनलाइन माध्यममा लैजान माग गरेको छ । ‘जनताले भोगिरहेका दु:ख र घुस लिने दिने अवस्थाबाट मुक्त गर्न माग गर्दछ,’ उसले भनेको छ, ‘नेपालमा लगानी गरी उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगी व्यापारीको सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दछ ।’
जनताको पैसा लुट्ने सहकारीका संचालकहरू र गैरसंचालकहरुलाई समेत तत्काल कारबाही गर्न र साना निक्षेपकर्ताहरूको रकम सरकारले तुरून्त फिर्ता गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । ‘अनियन्त्रित बजारमा वस्तुको मूल्यवृद्धिले सर्वसाधारण जनताको जीवनयापन निकै कष्टकर बनेको छ । तसर्थ महँगी नियन्त्रण गरी सहज जीवनायापनको वातावरण बनाउन सरकारसँग माग गर्दछ,’ संयुक्तले भनेको छ ।
नेकपा संयुक्तले जेन-जी आन्दोलनको भावनाअनुसार वामपन्थी पार्टीहरुले पुनर्गठन र रुपान्तरण अभियान अघि बढाउन आग्रह गरेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र नेपाली समाजलाई समाजवादी व्यवस्था निर्माणको आधार तयार गर्न वामपन्थी आन्दोलनलाई बलियो बनाउन आवश्यक छ । तसर्थ हालको जेन-जी आन्दोलनको भावनालाई आत्मसात गर्दै नेपालका वामपन्थी पार्टीहरूले आ–आफ्ना पार्टीहरूलाई पुनर्गठन र रूपान्तरण अभियान अगाडि बढाउन आग्रह गर्दछौं,’ संयुक्तले भनेको छ, ‘प्रतिक्रियावादी, पुनरुत्थानवादी ,साम्राज्यवादी शक्तिका सबैखाले षड्यन्त्रलाई परास्त गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान रक्षाको लागि नेपालका बाम लोकतान्क्रिक शत्तिहरूबीच सहकार्य गर्न आह्वान गर्दछ ।’
संयुक्तले जेन-जीको शान्तिपूर्ण आन्दोलनमा बर्बरतापूर्ण दमन गर्न आदेश दिने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूको छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
