नेता नेपालले देशको राजनीति बिग्रिनुको मूल कारण बेइमानी, भ्रष्टाचार र जनतालाई बेवास्ता गर्ने स्वार्थी र व्यक्तिवादी प्रवृत्ति रहेको उनले औंल्याए ।
What you should know
पोखरा — नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले देशमा भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न अब आर्थिक तथा सामाजिक रूपान्तरणको महाभियान जरुरी रहेको बताएका छन् ।
व्याप्त भ्रष्टाचार, कुशासन, बेरोजगारी र विदेशी निर्भरतालाई अन्त्य गर्दै समानता र न्यायमा आधारित ‘नेपाली विशेषताको समाजवाद’ प्राप्त गर्ने लक्ष्यका साथ कम्युनिस्टहरू एकताबद्ध भएको उनले बताए ।
पोखराको मानवअधिकार चोकमा आइतबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता र आर्थिक संकटको समाधानका लागि सशक्त योजना र इमानदारिता आवश्यक रहेकोमा जोड दिए । नेता नेपालले देशको राजनीति बिग्रिनुको मूल कारण बेइमानी, भ्रष्टाचार र जनतालाई बेवास्ता गर्ने स्वार्थी र व्यक्तिवादी प्रवृत्ति रहेको उनले औंल्याए । नयाँ पुस्ताका समस्यालाई नसुन्ने प्रवृत्तिले पनि देशलाई पछि पारेको उनको भनाइ थियो । ।
एकता सभामार्फत कम्युनिस्टहरूले जनताको पीडालाई सम्बोधन गर्ने र जनताको सेवामा समर्पित हुने संकल्प गरेको उल्लेख गरे । विदेशी निर्भरता तोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि, जलविद्युत् र पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।
‘सहकारी खेती लगायतका माध्यमबाट कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिन्छ । पोखरालाई पर्यटनको केन्द्र बनाएर नेपालको अर्थतन्त्रको बलियो आधार बनाउन सकिन्छ,’ उनले भने, ‘पानीमा आधारित लगभग १ लाख मेगावाट बिजुली उत्पादन गरेर पेट्रोल बेचेर धनी भएका देशहरू जस्तै नेपाल पनि बिजुली बेचेर धनी हुन सक्ने सम्भावना छ ।’
उनले देशको सामाजिक संरचनामा व्याप्त रहेका शोषण, विभेद, असमानता र महिला हिंसालाई समेत अन्त्य गर्ने अभियानमा कम्युनिस्ट पार्टी जुटेको स्पष्ट पारे ।
