पोखराको एकता सन्देश सभामा संयोजक दाहालले भने– ‘राष्ट्रिय संकट अझै टरेको छैन’

कुनै पनि बेला कुनै पनि रूपमा फेरि अर्को घटना घटाउन प्रपञ्चहरू भित्रभित्रै चलिरहेको दाहालको भनाइ थियो ।

मंसिर १४, २०८२

दीपक परियार

At the Unity Message Assembly in Pokhara, Coordinator Dahal said, ”The national crisis is not over yet.”

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा देखिएको राष्ट्रिय संकट अझै टरिनसकेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण वामपन्थी र देशझक्त शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

पोखराको मानवअधिकार चोकमा आइतबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले अहिलेको कम्युनिस्ट एकता केवल सत्ता वा चुनाव जित्नका लागि मात्र नभई देशलाई वैदेशिक चलखेल र हस्तक्षेपबाट जोगाउनका लागि गरिएको ‘महान् राष्ट्रिय आन्दोलन’ भएको दाबी गरे ।

‘अहिले पनि संकट पूरै टरिसकेको छैन । यदि तपाईंहरुलाई लागेको छ, संकट टर्‍यो, अब सामान्य रूपले चुनाव हुन्छ भन्ने मात्रै सोच्यो भने त्यो भ्रम हुन सक्छ,’ उनले भने, ‘विभिन्न रूपमा विभिन्न प्रतिक्रियावादी शक्तिहरू, विभिन्न खालका साम्राज्यवादी शक्तिहरू नेपालमा अहिले पनि चलखेलमै छन् । कुनै पनि बेला कुनै पनि रूपमा फेरि अर्को घटना घटाउन प्रपञ्चहरू पनि भित्रभित्रै चलिरहेका छन् ।’

उनले यो एकता नितान्त भिन्न, विशिष्ट र असाधारण परिस्थितिमा गरिएको बताए । राष्ट्रिय स्वाधीनता धरापमा पर्ने खतरा देखिएपछि कम्युनिस्टहरू एकताबद्ध हुन बाध्य भएको उनले स्पष्ट पारे । नेपालमा केही घण्टा राज्यविहीन जस्तो स्थिति आउन लागेको अनुभव सुनाउँदै उनले भने, ‘हामीले झन्डै झन्डै राष्ट्र धराशायी हुने ठाउँमा पुगेको नजिकको बिन्दु देखेर आयौं । म अहिले धेरै व्याख्या गर्दिन, तपाईंहरुले पनि महसुस पक्कै गर्नुभएको होला, अहिलेको संकट भनेको राष्ट्रिय संकट नै हो । राष्ट्रिय स्वाधीनताको रक्षाको संकट हो ।’

यो एकतालाई सबै घटकको आत्मालोचना सभा र संकल्प सभाको रूपमा लिएको उनले बताए । विगतका कमीकमजोरी सच्याउँदै अब राष्ट्र र जनताको हितमा समर्पित भएर काम गर्ने उनको प्रतिबद्धता थियो ।

‘फागुन २१ मै चुनाव हुन्छ, हुनैपर्छ’

दाहालले अहिलेको एकताको मुख्य उद्देश्य राष्ट्रिय संकट टार्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई पुनःस्थापित गर्ने रहेको दोहोर्‍याए । उनले ठूला पार्टीहरूसँग झन्डै दुई तिहाइ बहुमत हुँदा पनि राष्ट्रको रक्षा गर्न नसकेको उदाहरण दिँदै बहुमतले मात्रै केही पनि गर्दो रहेनछ भन्ने कुरा पुष्टि भएको भनाइ राखे ।

यद्यपि, उनले आसन्न निर्वाचन २१ फागुनमै हुने निश्चित भएकाले कुनै दुविधामा नपर्न आग्रह गरे । ‘कोही पनि अब द्विविधामा बस्न जरुरी छैन । चुनाव फागुन २१ गते हुन्छ, हुनै पर्छ,’ उनले भने । उनले नेपाली कम्युनिस्ट पार्टीले देशैभरि एकता सन्देश सभा आयोजना गरिरहेकाले चुनावी माहोल तयार भइसकेको दाबी गरे । सरकारलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव गर्नका लागि उनले आग्रह गरे ।

सुशासन र भ्रष्टाचारविरुद्ध युवाले गरेको जेन–जी आन्दोलनले आफूहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको स्वीकार्दै उक्त आन्दोलनका मागलाई समर्थन गर्ने पहिलो पार्टी नेपाली कम्युनिस्ट पार्टी नै रहेको उल्लेख गरे ।

तर, उनले विचार र इतिहास नभएका, हल्लाको भरमा रातारात नेता बन्ने ‘लोकप्रियतावाद’ ले देशको विकास गर्न नसक्ने भन्दै जनतालाई भ्रममा नपर्न आग्रह दिए ।

सम्पूर्ण वामपन्थीलाई एकताबद्ध गर्ने अभियान जारी रहेको बताउँदै उनले केपी ओलीको अहंकार, दम्भ र नक्कली प्रवृत्तिको विरोध गर्ने क्रान्तिकारीहरू पनि ढिलो चाँडो बृहत् वाम एकतामा आउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय संकट टार्नका लागि, लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस लगायतका लोकतन्क्रवादी शक्तिसँग पनि मोर्चा बनाउन जरुरी रहेको र त्यस सम्बन्धमा लगातार संवाद भइरहेको जानकारी उनले दिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully