एकता सन्देशसभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो : संयोजक दाहाल

मुलुकमा भएका १५ वटा कम्युनिष्ट पार्टीबीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने संकल्पका रूपमा पनि सभालाई आफूहरूले उपयोग गरिरहेको दाहालको भनाइ थियो ।

मंसिर १३, २०८२

रासस

Unity Summit is also a 'platform' for self-criticism: Coordinator Dahal

What you should know

तुलसीपुर — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सातवटै प्रदेशमा भइरहेका एकता सभा आत्मआलोचित हुने मञ्च पनि भएको बताएका छन् । 

शनिबार दाङको लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभामा उनले विगतमा गरेका कमजोरीलाई सच्याउँदै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहित पार्टीले सभा आयोजना गरिरहेको बताए । 'विकास निर्माणमा कहाँ चुक्यौँ, जनताका समस्या समाधान गर्न हामी कहाँ कमजोरी भए ? यस्ता कुराहरूको कमजोरी खोतल्ने, सच्याउने र आत्मालोचना गर्ने सभा पनि हो यो,' संयोजक दाहालले भने । 

मुलुकमा भएका १५ वटा कम्युनिष्ट पार्टीबीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने संकल्पका रूपमा पनि सभालाई आफूहरूले उपयोग गरिरहेको उनको भनाइ थियो । संयोजक दाहालले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीडित समुदायसँग सम्बन्धलाई दह्रो बनाएर अर्को लडाइँ लड्न पनि एकता आवश्यक भएको धारणा राखे । 

संयोजक दाहालले भने, 'यो एकता चुनाब जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि एकता भएको हो । अहिले जस्तो सङ्कट देशमा कहिल्यै थिएन । भदौ २४ गतेको विध्वंश हामीले देख्यौँ, त्यसले सार्वभौमसत्ता  सम्पन्न नागरिक र  राज्य संयन्त्र यति कमजोर भएको हो ? ती सबै विध्वंश जोगाउन नसक्ने अवस्थामा राज्य रहेको हो ? यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर हामी आफैँ बदलिएर जनताका निम्ति जस्तोसुकै बलिदानी गर्न संकलन लिएर अगाडि आएका छौँ ।' 

सभामा सहसंयोजक माधवकुमार नेपाल, नेता बामदेव गौतम, भीम रावल, वर्षमान पुन, रेखा शर्मा, चिरन पुनलगायतले सम्बोधन गरेका थिए । 

रासस

Link copied successfully