दुई महिनाभित्र महाधिवेशन गरी नेतृत्व चयन गर्ने सहमति उनीहरूको छ । हाल अध्यक्ष जोशी रहनेछन् भने दोस्रो वरीयतामा भुसाल रहनेछन् ।
What you should know
काठमाडौँ — पुराना कम्युनिस्ट नेता चन्द्रदेव जोशीले नेतृत्व गरेको नेकपा संयुक्त र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भुसालको पुनर्गठित पार्टीबीच बिहीबार एकता भएको छ । नाम नेकपा संयुक्त र चुनाव चिह्न हँसिया राखिएको छ ।
दुई महिनाभित्र महाधिवेशन गरी नेतृत्व चयन गर्ने सहमति उनीहरूको छ । हाल अध्यक्ष जोशी रहनेछन् भने दोस्रो वरीयतामा भुसाल रहनेछन् । ‘यही नेतृत्वमा महाधिवेशनमा जान्छौं, नयाँ नेतृत्व महाधिवेशनबाट चयन हुन्छ’ भुसालले भने ।
नेकपा संयुक्तका अध्यक्ष जोशी र एकीकृत समाजवादीका संयोजक भुसालले एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी बाटोमा अघि बढ्ने बताएका छन् । भुसाल चिनियाँ कम्युनिस्ट धार र जोशी रसियन कम्युनिस्ट धारबाट आएका नेता हुन् ।
‘मार्क्सवाद–लेनिनवाद तथा मानव जातिले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यको मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने । विश्व साम्राज्यवाद तथा वित्तिय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिका विरुद्ध सबै राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने’ सहमतिमा भनिएको छ ।
यस्तै ‘दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै, १०/१२ वर्षमा सबै नेपालीलाई रोजगारी दिने र भ्रष्टाचार, अपारदर्शिता, ढिलासुस्ती तथा अनियमितताको अन्त्य गरी सुशासनको स्थापना गर्दै, समाजवादको आधार तयार गर्ने कार्यभारलाई विस्तृतीकरण गरी आगामी राष्ट्रिय सम्मेलनबाट समाजवादको आजको ठोस कार्यभार अगाडि सार्ने’ सहमतिमा उल्लेख छ ।
‘आजको युगमा पुँजीवादी साम्राज्यवादी शोषणका विरुद्ध लड्न सक्ने चेतनशील सदस्यहरूको संगठन, मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनका प्रश्नमा हरेक सदस्य सचेत रहेको संगठन, सबै सदस्यमा क्रान्तिकारी वैचारिक तथा सांगठनिक योग्यता सुनिश्चित हुने मापदण्डका आधारमा हरेक कमिटीका पदाधिकारीको चयन, निर्वाचनबाट उम्मेदवारहरूको चयनलगायत अन्य विषयमा माथिल्ला कमिटीको कुनै पनि हस्तक्षेप नहुने व्यवस्था गर्ने’ पनि सहमति छ ।
नेकपा संयुक्त पार्टीका सबै सदस्य आफ्नै उत्पादनमा बाँच्छन् भन्ने कुराको प्रत्याभूति, सबै कमिटी निर्वाचित र सबै निर्णय संस्थागत हुने, नीतिगत सबै निर्णयमा कुनै कमिटीका सदस्यले मात्रै होइन, सबै सदस्यले भोट गर्न पाउने, हरेक कमिटीका उम्मेदवार पदाधिकारी माथि सार्वजनिक उजुरीको व्यवस्था, पदका कारणले आर्थिक हैसियत नबढ्ने कुराको ग्यारेन्टी गर्ने सहमतिमा उल्लेख छ ।
कुनै पनि फौजदारी मुद्दा लागेको व्यक्तिको सदस्यता स्वतः निलम्बन हुने, आदेश र फर्मानमा होइन, संवाद र सहकार्यमा आधारित, जनसंगठनका अध्यक्षहरू सम्बन्धित तहको पार्टी कमिटीको सदस्य हुने, इन्चार्जका नाममा कसैलाई पनि नपठाउने, पार्टीका तर्फबाट गएका सबै जनप्रतिनिधि त्यही स्तरको पार्टी कमिटीको प्रत्यक्ष निर्देशनअन्तर्गत रहने संगठनको विधि छ ।
‘सबै तहका जनप्रतिनिधिका उम्मेदवारको क्रान्तिकारी योग्यताको निर्धारण, हरेक तहका कमिटीका सदस्यको योग्यता निर्धारण गरिने, सदस्यहरूको सदस्यता शुल्क र पारदर्शी सार्वजनिक चन्दामा आधारित आर्थिक व्यवस्थापन, जिम्मेवारी पूरा गर्न नसक्ने कुनै पनि पदाधिकारी वा सदस्यको पद रिक्त हुने’ सांगठनिक संरचना हुनेछ ।
एकता कार्यक्रममा भुसालले एमालेको व्यक्तिवादी दक्षिणपन्थी पतन र माओवादीको सत्तामुखी अवसरवादसँग सामना गर्न वैचारिक तथा राजनीतिक तयारी गर्नुपर्ने बताए । ‘बृहत् वाम एकताको नेतृत्व गर्न सक्ने शक्तिका रूपमा नेकपा एकीकृत समाजवादीको औचित्यलाई पुष्टि गर्न सकिन्छ भन्ने प्रस्ताव राख्यौं, तर के कुरा विशेष रूपले स्मरणीय छ भने क्रान्तिकारी भनिएको पार्टीमा हाम्रा ती प्रस्ताव र प्रयास अल्पमतमा परे’ उनले भने, ‘केवल एमालेलाई शक्ति देखाउने, वाम आन्दोलनमा एउटा अलग धुरी बनाएर नेताहरूको चुनावी सिटका लागि सौदाबाजी गर्नेबाहेक उक्त एकताको अर्को उद्देश्य नभएको स्पष्ट भएपछि हामीले नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान सुरु गर्यौं ।’
संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेपालमा इमान्दार कम्युनिस्टको अभाव रहेको बताए । ‘इमान्दारिताका साथ जनताको पक्षमा काम गर्ने कम्युनिस्ट पार्टीको अभाव छ,’ उनले भने ।
