'कम्युनिस्ट मात्रै होइन, गैरकम्युनिस्ट देशभक्तहरुलाई पनि एक ठाउँमा ध्रुविकृत गर्ने गरी छलफलमा छौं ।'
What you should know
धनगढी — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको विकल्प नभएको बताउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न भनेका छन् । उनले एमाले उल्टो बाटो हिँड्दै धम्काइरहेको आरोप लगाए ।
‘निर्वाचन घोषणा भइसकेको छ । तर निर्बाध रूपमा चुनावका पक्षमा लाग्नुपर्ने मान्छे, हिजो संसद् विघटन गर्ने मान्छे, अहिले चुनाव होइन, पुनर्स्थापना भन्दै उल्टो बाटो हिँडिरहेका छन्,’ एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई दाहालले भने, ‘अहंकारी र दम्भीहरुलाई सबक सिकाउने बेला पनि यही हो ।’
शुक्रबार तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १५ घटकको एकीकरणपछि गठित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा बोल्दै त्यसबेला उत्पन्न संकट टार्न आफूहरुले राष्ट्रपतिलाई सहजीकरण गरेर निर्वाचनको विकल्प दिएको बताए ।
‘भदौ २४ गते कोही नेता सुरक्षित थिएनन्, देश राज्यविहीनताको अवस्थामा थियो । राष्ट्रका धरोहरहरुमा आगो बलिरहेको थियो । २६ गते देश डुब्नै लागेको थियो,’ दाहालले भने, ‘बाहिर विभिन्न हल्लाहरु चलाइएका थिए, ज्ञानेन्द्र आउने हल्ला चलाइएको थियो, राष्ट्रपतिलाई राजीनामा गर्न बाध्य पारिँदैछ भन्ने हल्ला चलाइएको थियो, ती हल्लाकैबीच प्रधान सेनापतिले बोलाएपछि आफू र माधव नेपाल राष्ट्रपति निवासका पुगेर निकासका लागि सहजीकरण गरेका हौं । अन्तरिम सरकार गरेर निर्वाचन गरेर निकासको उपाय सुझायौं,’ उनले भने ।
पार्टी संयोजक दाहालले बृहत् वाम एकताको कसरतमा रहेको पनि बताए । उनले १२ वटा वाम घटकको एकतापछि आफूहरुको ध्यान एमालेतर्फ सोझिएको बताए । ‘म एमालेभित्रका देशभक्त शक्तिलाई पनि ध्रुविकृत हुन विशेष अपिल गर्न चाहन्छु । बिना कुनै आग्रह पूर्वाग्रह शक्तिशाली कम्युनिस्ट पार्टी बनाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘नेपाली कम्युनिस्ट पार्टीको नाम त्यत्तिकै राखेका होइनौं । सबै देशभक्त शक्ति एक ठाउँमा आउनु जरुरी छ ।’
कतिपयले आफूहरुलाई चुनाव जित्नका लागि धेरै घटकहरुलाई एकीकरण गराइरहेको आरोप लगाउने गरेको पनि उनले बताए । आफूहरुले आफ्ना कमिकमजोरीको आत्मसमीक्षा गरेको र गल्ती नदोहोर्याउने प्रतिवद्धता गरेकोको उनको भनाइ थियो ।
‘सबै देशभक्तहरुलाई एकताबद्ध अब नगरी देश बचाउन सकिँदैन भन्ने हाम्रो निष्कर्षका आधारमा यो एकता प्रक्रिया अगाडि बढाइएको हो,’ उनले भने ‘राष्ट्रको संकट समाधानका लागि सबैलाई एकजुट गराउने प्रतिज्ञा गरेका हौं ।’ दाहालले कम्युनिस्ट मात्रै मात्रै होइनन्, गैर कम्युनिस्टहरुसँग पनि छलफल र संवादमा रहेको बताए ।
जेन–जी युवाहरुको माग मुद्दा जायज रहेको र आफूहरुले समर्थन गरेको दाहालको भनाइ थियो । सरकारलाई सतर्क गर्दागर्दै पनि २३ गते नरसंहार गरेको उनले आरोप लगाए । ‘हामीहरुले पनि विगतमा गल्ती गर्यौं, आफ्नै नातीनातिनाका रुचिलाई पनि ध्यान दिएनौं, उनीहरुले अहिलेको युग र प्रविधि बुझेका छन्, उनीहरु एआईसँग अभ्यस्त पुस्ता हो । त्यसैले हामी सबैले आफ्नै घरबाट नातिनातिनी पुस्ताका कुरा सुन्ने गरौं । छोराछोरीतिर ध्यान दिऔं,’ दाहालले भने । जेन–जी पुस्ताले पनि मित्र को हो र बैरी को हो भन्ने विस्तारै बुझ्दै जाने उनको भनाइ थियो ।
पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेन–जी आन्दोलनपछि देशलाई निकास दिन आफू र पुष्पकमल दाहालले भूमिका खेलेको दाबी गरे । त्यसबेला समयमा आफू र दाहालबाहेक अन्य नेताको अत्तोपत्तो नै नभएको बताउँदै नेता नेपालले भने, ‘त्यसबेला देश के हुने हो भन्ने अन्योल थियो । प्रचण्ड र म मात्रै राष्ट्रपतिकहाँ गएर रातभरि बसेका हौं । हामीले राष्ट्रपतिलाई तपाईंको साथमा छौं भन्यौं ।’
नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ भन्दै गर्दा आफूलेचैं पतन ८४ हुन सक्ने कुरा समयमै औंल्याएको बताए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १५ वटा घटकबीच एकीकरण भएपछि नवगठित नेपाली कम्युनिस्ट पार्टीले सात वटै प्रदेशमा एकता सभा गर्ने तयारी गरेको छ । त्यस क्रममा सुदूरपश्चिमबाट एकता सभा गर्न लागिएको नेता कार्यकर्ताहरुले बताएका छन् ।
