पूर्वअध्यक्ष मिलन पाण्डे, नेता रमेश पौड्याल, उज्ज्वल थापा फाउन्डेसनमा रहेका आशुतोष तिवारी, आलोक सुवेदी, युवा संगठनका अध्यक्ष युजन राजभण्डारी, पूर्वअध्यक्ष सरोज गौतमलगायत एकीकरणमा सामेल छैनन्।
What you should know
काठमाडौँ — पहिलो संविधानसभा विघटनपछि ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ अभियान हुँदै सुरु भएको विवेकशील नेपाली अन्ततः १३ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय हुने भएको छ । समीक्षा बाँस्कोटा अध्यक्ष र रञ्जु दर्शना महासचिव रहेको पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय पारित गरेको प्रवक्ता आशुतोष प्रधानले बताए ।
‘पार्टी एकीकरणका अन्य प्राविधिक सवाल दुवै दलका नेतृत्वको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंगो लगाइनेछ, आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ,’ उनले भने ।
चुनाव र सत्तामा गएर मात्र परिवर्तन हुन्छ भन्ने होइन भन्ने सन्देश दिँदै उज्ज्वल थापाले सुरु गरेको यो पार्टी रास्वपामा समाहित हुँदा विवेकशीलका कतिपय चर्चित अनुहार भने समेटिने छैनन् । पूर्वअध्यक्ष मिलन पाण्डे, नेता रमेश पौड्याल, उज्ज्वल थापा फाउन्डेसनमा रहेका आशुतोष तिवारी, आलोक सुवेदी, युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अध्यक्ष युजन राजभण्डारीलगायत एकीकरणमा सामेल छैनन् ।
‘विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीमा सक्रिय सहभागी हुनेको संख्या एकदमै न्यून थियो, पार्टी लगभग निष्क्रियजस्तै थियो,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘एउटा राम्रो ब्रान्ड भए पनि विवकेशील आफैं अस्तित्व रक्षाका लागि छटपटाइरहेको थियो ।’ त्यही कारण चुनावलाई समेत लक्ष्य गरेर पार्टीलाई रास्वपासँग जोडेको नेताहरूको दाबी छ ।
वार्ता समितिका संयोजक एवं उपाध्यक्ष प्रकाशचन्द्र परियार भने यो मान्न तयार छैनन् । ‘जेन–जी सहादतपछिको परिस्थितिमा हुन लागेको निर्वाचनबाट राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति आउनुपर्छ । तसर्थ विवेकशील आन्दोलनलाई आत्मसात् गर्दै लिपिबद्ध गर्न ठूलो शक्ति चाहिने भएकाले एकीकरण गर्न लागिएको हो,’ उनले भने, ‘यो दुईतिहाइभन्दा बढीको निर्णय हो । कसैले पनि नोट अफ डिसेन्ट लेख्नुभएको छैन ।’
वैकल्पिक शक्ति एक ठाउँमा हुनुपर्ने विषयमा सबै एकमत भए पनि रास्वपा, कुलमान घिसिङ, बालेन शाहलगायत सबै पक्षले आआफ्नो हठ राखिरहेका बेला विवेकशील साझा पार्टीले राष्ट्रिय तरंग दिने किसिमको निर्णय गरेको परियार बताउँछन् । ‘सबै एक ठाउँमा नहुने हो भने चुनावमा फेरि पुरानै शक्ति आउने भए, त्यसमा सकारात्मक खबरदारी गर्नलाई समेत यो निर्णय गरिएको हो,’ परियारले थपे, ‘यो निर्णय लेनदेन र भागबन्डाभन्दा माथि उठेर गरिएको हो ।’
रास्वपाबाट एकीकरणका लागि पूर्वसांसद शिशिर खनालले समेत संयोजन गरेका थिए । रास्वपा केन्द्रीय सदस्य पुकार बम नेतृत्वको संवाद समितिले पनि विवेकशील साझाका नेतासँग छलफल गरेको थियो । तर त्यसबेला विवेकशीलका नेताहरूले काठमाडौंका मेयर बालेन शाह, ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ, रास्वपा छाडेकी सुमना श्रेष्ठलगायतसँग छुट्टाछुट्टै संवाद गरिरहेका थिए ।
रास्वपासँग एकीकरण गर्ने निर्णयमा विवेकशील साझाका पदाधिकारीले रास्वपाको उल्लेखनीय पद पाउने समझदारी छैन । अध्यक्ष बाँस्कोटा, महासचिव दर्शनासहित केहीलाई केन्द्रीय सदस्य बनाइनेछ भने निश्चित केन्द्रीय सदस्यहरूलाई परिषद् सदस्य बनाउने तयारी छ । केही नेतालाई पछि समानुपातिकमा स्थान दिइने रास्वपा नेता बताउँछन् ।
एकीकरणको निर्णयप्रति विवेकशीलका कतिपय नेता भने सन्तुष्ट छैनन् । दुई पार्टीको एकीकरण चुनावमुखी मात्र भएको पार्टीबाट भरतपुर महानगरपालिकाको मेयरमा २०७९ मा चुनाव लडेका तत्कालीन चितवन जिल्ला संयोजक प्रवीण काफ्लेको भनाइ छ । ‘विवेकशीलको वैचारिक लाइन नै राजनीति भनेको चुनाव मात्र होइन भन्ने हो, अहिलेको एकीकृत विवेकशीलको लिगेसीसँग मिल्दो कुरा पनि होइन,’ उनले भने ।
विवेकशील पृष्ठभूमिका रक्षा बम, ईः लगायतले जसरी पपुलिज्म र पदीय राजनीतिभन्दा बाहिर बसेर सन्देश दिइरहेका छन्, त्यो नै विवेकशीलको ‘स्पिरिट’ भएको काफ्ले बताउँछन् । विवेकशीलका पूर्वकेन्द्रीय सदस्य हरिश भट्टले पनि अहिलेको एकीकरणले विवेकशीलको मान्यतालाई नसमेट्ने दाबी गरे । ‘चुनावकेन्द्रित राजनीतिका लागि यो एकीकरण ठीकै होला,’ उनले भने, ‘तर सुरुमा विवेकशील नेपालीले जुन मूल्य, मान्यताको परिकल्पना गरेको थियो, त्यो मान्यता यसले बोक्दैन ।’
जेन–जी आन्दोलनपछिको परिस्थितिमा विवेकशील पृष्ठभूमिका प्रायः युवा महत्त्वपूर्ण स्थानमा छन् । नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बम आन्दोलनअघिसम्म उज्ज्वल थापा फाउन्डेसनमा कार्यरत थिइन् । फ्रन्टका सदस्य युजराज भण्डारी युवा संगठनका प्रमुख थिए । पुकार बम र विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति गरिरहेका छन् भने विवेकशीलका पूर्वकेन्द्रीय सदस्य भूपदेव शाह काठमाडौं महानगरका मेयर बालेन शाहका स्वकीय सचिव छन् । सस्मित पोखरेल पनि त्यहीँ छन् ।
सञ्जीव भट्टराई, राजिया बानु उज्यालो नेपाल पार्टीसँग छन् । विवेकशीलका पूर्वप्रदेश संयोजक उपार्जुन चाम्लिङ अहिले सुधन गुरुङ नेतृत्वको जेन–जी समूहका कोशी प्रदेश संयोजक छन् । जेन–जी आन्दोलनका अगुवा रिजन राना मगर, आदित्य कर्ण र प्रदीप ज्ञवाली पनि विवेकशील पृष्ठभूमिकै हुन् । प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण विवेकशीलका संस्थापक सदस्य हुन् ।
प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । ‘अहिले जताततै हेर्नुस्, विवेकशील पृष्ठभूमिका साथीहरू हुनुहुन्छ, तर विवेकशीलचाहिँ कता छ भन्दा काहीँ छैन भन्ने परिस्थिति बनेको छ,’ एकीकरणसँग असन्तुष्ट एक नेताले भने ।
१५ जेठ २०६९ मा पहिलो संविधानसभा भंग भएपछि उज्ज्वल थापा, गोविन्द नारायण र पुकार बमहरूले दबाबमूलक अभियान चलाएका थिए । त्यसबेला उनीहरूले दलहरू संविधान दिनलाई असफल भएपछि अब के गर्ने भनेर संवाद शृंखला चलाएका थिए । छलफलकै बीचबाट २०६९ मा विवेकशील नेपाली मञ्च गठन भएको थियो । त्यसबेला विवेकशीलका नेताले ‘युवा अघि सर्छ, देश अघि बढ्छ’, ‘हामीले नगरे कसले गर्ने’ जस्ता नारा अघि सारेका थिए ।
२०७४ सालमा विवेकशीलबाट काठमाडौं महानगरमा रञ्जु दर्शनाले २३ हजार ७ सय ३९ मत ल्याइन् भने पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४ सय ६९ मत ल्याए । त्यसपछि वैकल्पिक शक्ति एक ठाउँमा हुनुपर्ने मत बलियो भयो भने विवेकशील र साझा पार्टीबीच २७ पुस २०७५ मा एकीकरण भयो । तर, त्यो लामो समय टिक्न सकेन । कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले २०७५ पुसमा रञ्जु दर्शना, विराजभक्त श्रेष्ठ, रमेश पौडेलसहित नयाँ दल दर्ता गरे ।
मिलन पाण्डे नेतृत्वमा भएका बेला दोस्रो पटक मिश्र नेतृत्वको साझा पार्टीसँग २०७७ मंसिरमा एकीकरण भयो । यद्यपि, अध्यक्ष मिश्रले राजसंस्थाको वकालत गर्दै मार्ग परिवर्तन दस्ताबेज ल्याएपछि फेरि विवेकशील छिन्नभिन्न भयो । पछि २०७९ मा समीक्षा बाँस्कोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।
