औपचारिक पत्रबिना छलफलमा सहभागी नहुने विशेष महाधिवेशन पक्षधर नेताहरुले अडान राखेका छन् ।
What you should know
काठमाडौँ — कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरूले औपचारिक पत्रबिना आफूहरू छलफलमा नबस्ने बताएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज बिहान मौखिक खबरको आधारमा बोलाएको बैठकमा उनीहरू गएनन् ।
पार्टी केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको मागसहित निवेदन दर्ता भएको र त्यस विषयमा छलफल गर्नका लागि औपचारिक रुपमा पत्र दिनुपर्ने माग गरेपछि आज छलफल हुन नसकेको हो ।
'अहिलेसम्म हामीसँग कुनै छलफल पार्टीले गरेको थिएन । कार्यवाहक सभापतिले आज मौखिक रुपमा बोलाउनुभयो । त्यसप्रति हाम्रो सम्मान छ । तर विशेष महाधिवेशनको माग औपचारिक रुपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएकाले औपचारिक रूपमै बोलाइयोस् पठाइयोस् । अनि हामी संवादमा बस्छौं भनेर भन्यौं,' विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले भने ।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरसँगको छलफलमा नियमित महाधिवेशनको नभई विशेष महाधिवेशन बोलाउने बारेमा मात्रै छलफल हुनुपर्ने माग राखिएको छ। 'हामीसँग छलफल गर्दा नियमितको नभई विशेष महाधिवेशन बोलाउनेबारे छलफल हुनुपर्छ भन्ने हाम्रो प्रष्ट धारणा छ,' उनले भने ।
उता सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा समझदारी जुटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरिरहेका छन्। छलफलमा निर्वाचनअगाडि महाधिवेशन गर्न नहुने अडानमा रहेका नेता कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसहितका नेताहरूको समेत उपस्थिति छ । तर छलफलमा अहिलेसम्म कुनै निष्कर्ष निस्किसकेको छैन।
महामन्त्रीहरू निर्वाचनअगाडि महाधिवेशन गर्नैपर्ने अडानमा छन् भने संस्थापन पक्षकै सिटौला र निधिसहितका बहुमत सदस्य निर्वाचन पछाडि मात्रै महाधिवेशन गर्नुपर्ने कुरामा कायमै छन्। निधि र सिटौलाको उपस्थितिमा संस्थापन पक्षको भेलाले पुरानै अडान दोहोर्याएको छ । संस्थापन पक्षकै २८ केन्द्रीय सदस्यहरूको अर्को समूहले भने निर्वाचनअगाडि नै नियमित महाधिवेशन गरेर जानुपर्ने भन्दै नेतृत्वलाई तालिका ल्याउन सुझाएका छन्।
पार्टीले औपचारिक रुपमा आफूले उठाएको एजेन्डाका विषयमा छलफल गर्न नबोलाएको भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरुले गुनासो गर्दै आएका थिए ।
कांग्रेस महाधिवेशनको विषयमा समझदारी बनाउन कार्यवाहक सभापति खड्काले आज बिहान विशेष महाधिवेशन पक्षधर समेतलाई छलफलमा बोलाएका थिए ।
