नयाँ सरकार बनेपछि प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच पहिलो पटक संवाद भएको हो ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सघाउन एमालेलाई आग्रह गरेकी छन् ।
एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुसँग भेटवार्ता गरी उनले चुनाव गराउन आफू प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि आग्रह गरेकी हुन् ।
नयाँ सरकार बनेपछि प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच पहिलो पटक संवाद भएको हो । वार्तामा सहभागी विघटित प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । ‘सम्माननीय प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुलाई सकरात्मक रुपमा ग्रहण गरेका छौं । दलहरुले सहयोग गर्नुपर्यो भन्नुभयो,’ उनले भने, ‘लोकतन्त्रका लागि लामो संघर्ष गर्यौं । जनतामा गएर परीक्षण हुन अस्वीकार गर्दैनौं । विरोध गर्दैनौं । एमालेलाई अपिल होइन, चुनावको वातावरण खोजेका छौं ।’
उनले निर्वाचनका लागि सहज परिस्थिति नदेखेको भन्दै कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता लिन आग्रह गरेको जनाए । ‘आईजीपीको अवकाश हुनेबित्तिकै स्थानहदले प्रहरीको मनोबल घटाएको छ । भागेका कैदी, लुटिएको हतियार फिर्ताको अवस्था के छ भनेर हामीले जिज्ञासा राख्यौं, प्रधानमन्त्रीज्युले आफूले प्रयास गरिरहेको बताउनुभयो,’ बर्तौलाले भने ।
एमाले नेताहरुले आफूहरुले निर्वाचनको विरोध गरेको नभई सहज वातावरण चाहेको बताएका थिए । ‘एमाले जनतामा जान रुचाउने पार्टी हो । हामीले चुनावी वातावरण खोजेको हो,’ बर्तौलाले भने, ‘हामीले कानुनी परीक्षणबारे पनि ध्यानाकर्षण गरायौं ।’
