वैकल्पिक राजनीतिमा ध्रुवीकरणको आवश्यकता थियो, रास्वपा र विवेकशील साझाले सुरु गर्‍यौं : बाँस्कोटा

'नेपालको वैकल्पिक राजनीतिमा ध्रुवीकरणको आवश्यकता थियो । हामीले जेन-जी आन्दोलनपछि वैकल्पिक राजनीतिमा देखिएको ध्रुवीकरणमा सत्प्रयास गरेका छौं ।'

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

There was a need for polarization in alternative politics, we started it with the Rashtriya Swayamsevak Sangh (RSS) and the Bibeksheel Sajha: Baskota

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग विवेकशील साझाको एकता वैकल्पिक राजनीतिमा देखिएको एकताको आवश्यकता अनुसारको कदम भएको विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले बताएकी छन् । 

रास्वपासँग एकता गर्ने पार्टीको निर्णय बुधबार सार्वजनिक भएपछि अध्यक्ष बाँस्कोटाले कान्तिपुरसँग कुरा गर्दै जेन-जी आन्दोलनपछि नयाँ राजनीतिक दल र समूहबीच देखिएको एकताको आवश्यकताका लागि दुई दल मिल्ने सहमति भएको बताइन् ।

दुई पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय भएको र प्राविधिक विषय मात्रै मिलाउन बाँकी रहेको पनि बाँस्कोटाको भनाइ छ । 'नेपालको वैकल्पिक राजनीतिमा ध्रुवीकरणको आवश्यकता थियो । हामीले जेन-जी आन्दोलनपछि वैकल्पिक राजनीतिमा देखिएको ध्रुवीकरणमा सत्प्रयास गरेका छौं । यो एकता वैकल्पिक पार्टी, समूह र नयाँ दलहरूलाई सन्देश पनि हो,' उनले भनिन् । 

दुई दल मिलेर संस्थागत विकासमा अगाडि बढ्ने अध्यक्ष बाँस्कोटाको भनाइ छ । लामो राजनीतिक सहयात्रा गर्न दुई पार्टीका नेता तयार भएपछि एकताको निर्णयमा पुगिएको उनको भनाइ छ । 'लामो राजनीतिक यात्राको सहयात्री हुँदैछौं, एकताबद्ध भएर,' उनले भनिन् ।   

एकतापछि कुन दलको चुनाव चिह्न र झन्डा भन्ने कुरा गौण रहेको बाँस्कोटाको भनाइ छ । 'प्राविधिक कुरा आगामी आइतबार एकता घोषणा सभामा सार्वजनिक हुन्छ । त्यो बाहेक अरु केही पनि छैन । वैकल्पिक राजनीति आजको आवश्यकता भएर नै एकताको निर्णय गरिएको हो,' उनले भनिन् ।

विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गरेर रास्वपासँग एकता हुने जानकारी दिएका छन् । 'वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले निकट मित्र शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ,' बुधबार विज्ञप्ति जारी गरेर प्रधानले भनेका छन्, 'पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको 'बृहत्तर ध्रुवीकरण/ एकीकरण प्रस्ताव'लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो ।'

विवेकशील साझाले वैकल्पिक राजनीतिका प्रणेता तथा पार्टीका संस्थापक उज्वल थापाको योगदान र 'विवेकशील आन्दोलन'लाई लिपीबद्ध गर्ने र प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलबीच एकीकरण भएको जनाएको छ । 

कान्तिपुर

Link copied successfully