केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको हो। नयाँ प्रदेश इन्चार्ज भने अहिले तोकिएका छैनन्।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशका इन्चार्जहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको भूमिकामा रहेका सचिवालय सदस्यहरूलाई इन्चार्जबाट हटाएर अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्जको भूमिका दिने निर्णय गरेको हो। नयाँ प्रदेश इन्चार्ज भने अहिले तोकिएका छैनन्।
रास्वपाले गत वैशाखमा कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा निमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई प्रदेश इन्चार्ज तोकेको थियो।
यीमध्ये कोशी प्रदेश इन्चार्ज रहेका परियारले रास्वपा परित्याग गरिसकेका छन्। रास्वपाले आगामी निर्वाचनलक्षित सबै पालिकामा र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरेको छ।
