घुम्दै फिर्दै पेरिसडाँडा पुगे नेपाल

दाहाल र नेपालको कार्यकक्ष सँगसँगै, कुनैबेला एमालेका शक्तिशाली महासचिव नेपाल बने दाहालका सहकमान्डर

मंसिर १०, २०८२

गंगा बीसी

Nepal reached Parisdanda by wandering around

What you should know

काठमाडौँ — एमालेमा करिब १५ वर्ष कार्यकारी पदमा रहेका पूर्वमहासचिव माधवकुमार नेपाल घुम्दै–घुम्दै पेरिसडाँडा पुगेका छन् । पूर्व माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत घटकबीच एकता भएपछि बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौंको तीनकुने नजिक केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपालका लागि सुविधासम्पन्न कार्यकक्ष बनेको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक नेपाल दुवैका लागि सुविधासम्पन्न कार्यकक्ष छ । दुवैको कार्यकक्ष बाहिर स्वकीय सचिव र प्रतिक्षालयसमेतको व्यवस्था छ ।

जेन-जी आन्दोलनको अर्को दिन भदौ २४ मा माओवादी कार्यालय तोडफोडबाट क्षति भएको थियो । मर्मतपछि सञ्चालनमा आएको कार्यालयमा हाल नेकपा संयोजक र सह–संयोजकका लागि एसीसहितको कार्यकक्ष बनेको छ । नेकपामा अरू पदाधिकारी छैनन् ।

Nepal reached Parisdanda by wandering aroundनेपाल आलोकनगरबाट पेरिसडाँडा सरेको नेकपा केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले बताए । ‘भदौ २४ मा आगजनीपछि क्षति भएको केन्द्रीय कार्यालय मर्मत गरी हाल संयोजक र सह–संयोजकका लागि कार्यकक्ष बनाएका छौँ,’ उनले भने, ‘सह–संयोजक माधव नेपाल हालै आलोकनगरबाट पेरिसडाँडा सरेका छन् ।’

पुनले संयोजक र सह–संयोजकको कार्यकक्षमा क्रान्ति, परिवर्तन झल्किने पेन्टिङका साथै अरू सजावट गर्ने बताए । नेकपाका वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र भीम रावलका लागि कार्यकक्ष निर्माण भएको छैन । केन्द्रीय सचिवालय बैठकका बेला बस्ने कोठाहरू भने तयार गरिएको छ ।

Nepal reached Parisdanda by wandering aroundनेपाली कम्युनिस्ट पार्टी निर्माण भएसँगै पेरिसडाँडामा चहलपहल बढेको छ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र उम्मेदवारका आकांक्षीहरूको आवतजावत बढेको छ । भदौ २४ मा आगजनीपछि क्षति भएको पेरिसडाँडा भवनलाई मर्मत गरी सचिवालय र स्थायी समिति सदस्य अट्ने हल पुनर्निर्माण भइसकेको छ ।

Nepal reached Parisdanda by wandering aroundनेकपा सह–संयोजक नेपालको भेटघाट पेरिसडाँडामा हुन थालेको छ । नेकपाको आफ्नै कार्यालय भएकाले भाडा तिर्नु पर्दैन । भदौ २४ मा केन्द्रीय कार्यालय जलेपछि असोज पहिलो साता निरीक्षण गर्न पुगेका संयोजक दाहालले ‘सबैको सहयोगमा भव्य’ भवन बनाउने बताएका थिए ।

संयोजक दाहालले हाल अधिकांश भेटघाट केन्द्रीय कार्यालयमा गर्न थालेको मुख्य सचिव पुनले बताए । ललितपुरको खुमलटारस्थित निवास भदौ २४ मा आगजनी भएपछि उनी हात्तीवन बस्दै आएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक दाहाल र सह–संयोजक नेपालका लागि भवनको दोस्रो तलामा सँगै कार्यकक्ष छ । मुलुकको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेका मुख्य नेतृत्वमा करिब १४ वर्ष रहेका नेपाल पेरिसडाँडा पुगेपछि दाहालको ‘सहकमाण्डर’ भएका छन् । तत्कालीन एमालेको सुविधासम्पन्न केन्द्रीय कार्यालय बल्खु २०७२ सालको भूकम्पले क्षति पुगेपछि भत्काइएको थियो । एमाले महासचिव रहँदा नेपालका लागि बल्खुमा सुविधासम्पन्न कार्यकक्ष थियो ।

Nepal reached Parisdanda by wandering around२०७८ भदौमा एमालेबाट विभाजन भएपछि नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको थियो । एमाले विभाजनको औचित्य पुष्टि नहुँदै कात्तिक १८ मा माओवादीसँग एकतापछि नयाँ नेकपा बनेको छ । २०७५ जेठमा एमाले र माओवादीबीच एकता हुँदा बनेको नेकपामा सहयात्रा गरेका दाहाल र नेपाल पुनः एउटै पार्टीको नेतृत्वमा पुगेका छन् । त्यतिबेलाको नेकपा २०७७ फागुनमा सर्वोच्चको एक आदेशले विभाजन भई एमाले र माओवादी ब्युँतिएका थिए ।

२०५० जेठ ३ मा चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधन भएपछि केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई महासचिव चयन गरेको थियो । त्यसपछि उनी एमालेका शक्तिशाली महासचिव बनेका थिए ।

Nepal reached Parisdanda by wandering around२०५४ माघमा भएको छैटौँ र २०५९ माघमा भएको सातौँ महाधिवेशनबाट उनी महासचिव चयन भएका थिए । २०६५ फागुनमा भएको आठौँ महाधिवेशनबाट उनी वरिष्ठ नेतामा चयन भएका थिए । २०७१ असारमा भएको नवौँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएपछि नेपाल राजनीतिक रूपमा कमजोर हुँदै गएका थिए ।

५ रोपनीमा छ नेकपा केन्द्रीय कार्यालय

माओवादीले २०८० माघमा थप ८ आना जग्गा किनेपछि पेरिसडाँडा केन्द्रीय कार्यालयको जग्गा ५ रोपनी पुगेको छ । पछिल्लो ५ करोड ७७ लाख २८ हजार ७५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरिएको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख गरिएको थियो ।

तत्कालीन माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव एवं कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेभीबाट जग्गा खरिद गरिएको बताएका थिए । पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको थियो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको थियो । यसअघि पनि उनीबाटै १२ आना किनेका थिए ।

Nepal reached Parisdanda by wandering aroundमाओवादीले २०६५ सालमा २ रोपनी ८ आना जग्गासहितको भवन राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयले गरेको लिलामीबाट सकारेको थियो । तत्कालीन राष्ट्रिय उद्योग–व्यापार महासंघका अध्यक्ष शिव कट्टेलको सक्रियतामा उक्त जग्गा र भवन माओवादी मजदुर संगठनको नाममा किनिएको थियो ।

माओवादी शान्ति प्रक्रियामा आउनुअघि माओवादी केन्द्रीय कार्यालय रहेको भवन भीमबहादुर ढक्वाले होटल सञ्चालन गरेका थिए । माओवादी द्वन्द्वका कारण होटल व्यवसाय ठप्प भएपछि वाणिज्य बैंकले उक्त भवन र जग्गा लिलाम गरेको थियो । त्यतिबेला माओवादीले सहकारीबाट ऋण र चन्दा उठाएर २ करोड ७४ लाखमा २ रोपनी ८ आना जग्गा बैंकबाट सकारेको थियो । भवन र जग्गा खरिदका लागि ललितपुरको एक सहकारीबाट ऋण लिइएको थियो ।

पछिल्लो पटक थप ८ आना जग्गा किनेपछि अब माओवादी केन्द्रीय कार्यालयको नाममा ५ रोपनी जग्गाको धनी नवगठित नेकपा बनेको छ । माओवादीले ०६५ मा भवन र जग्गा किनेपछि पेरिसडाँडा नामले चर्चित बनेको थियो । होटल सञ्चालनका लागि बनाइएको भवनमा पार्टी, मजदुर संगठन, वाईसीएललगायत कार्यालय रहेका छन् । नेकपाले आगामी दिनमा ५ रोपनी जग्गामा अत्याधुनिक केन्द्रीय कार्यालय बनाउने योजना बनाएको छ ।

गंगा

Link copied successfully