कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला आज

नेता तथा कार्यकर्ताहरूले नियमित महाधिवेशन नहुने सम्भावना देखेपछि विशेष महाधिवेशन बोलाउन दबाब दिन भेला गर्न लागेका हुन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

National gathering of supporters of Congress' special general convention today

काठमाडौँ — विशेष महाधिवेशनका लागि दबाब दिन हस्ताक्षरकर्ता प्रतिनिधिहरुले आज काठमाडौँमा भेला गर्दै छन्। 

दिउँसो १ बजेपछि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुने गरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए। 

भेलामा काठमाडौँ बाहिरबाट पनि प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी हुँदै छन्। जेन-जी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरूले नियमित महाधिवेशन नहुने सम्भावना देखेपछि विशेष महाधिवेशन बोलाउन दबाब दिन लागेका हुन् । 

उनीहरूले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए । काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेकाले पुस २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा काँग्रेस परेको छ । 

बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय समितिले गर्नुपर्ने उनीहरूको माग छ।

कान्तिपुर संवाददाता

Link copied successfully