महाधिवेशन विवाद मिलाउन कांग्रेस नेताहरू बिहानैदेखि सक्रिय

संस्थापन पक्षले पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी तालिका ल्याउने, तर विशेष महाधिवेशन पक्षधरहरूले गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको माग सम्बन्धी निवेदन फिर्ता लिनुपर्ने सर्त अघि सारेको छ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Congress leaders have been active since morning to resolve the general convention dispute.

What you should know

काठमाडौँ — कांग्रेसको महाधिवेशन विवाद मिलाउन नेताहरू सक्रिय भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूह-समूहका नेताहरूसँग बिहानदेखि छलफल गरिरहेका छन्। बिहीबार हुने केन्द्रीय कार्यसमितिको बैठक अगाडि महाधिवेशनको विषयमा एक खालको समझदारी बनाएर निर्णय लिने कसरत भइरहेको छ।

तर अहिलेसम्म निर्वाचन अगाडि महाधिवेशनको सुनिश्चित गराउन संस्थापन पक्षले सकिरहेको छैन। यता महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले भने विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्।

देउवानिकट एक नेताका अनुसार पुस मसान्तभित्र नियमित महाधिवेशनकै तालिका ल्याउने, तर विशेष महाधिवेशन पक्षधरहरूले गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको माग सम्बन्धी निवेदन फिर्ता लिनुपर्ने सर्त संस्थापन पक्षले राखिरहेको छ।

संस्थापन पक्षको उक्त सर्तलाई महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधर नेताहरूले समेत अस्वीकार गरिसकेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे सभापति देउवाले आज बिहानै कार्यवाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकसहित केही नेताहरूसँग छलफल गरेका छन्। सभापतिसँगको छलफलपछि खड्काले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गर्ने तयारी गरेका छन्। आजै देउवाले संस्थापन इतर पक्षका अर्का नेता शेखर कोइरालासँग समेत संवाद गर्ने तयारी गरेका छन्।

निर्वाचन अगाडि नै नियमित महाधिवेशन नगर्दा विधानतः विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता भएकाले सभापति देउवा पुस मसान्तभित्रै नियमित महाधिवेशन ल्याउन तयार भएका हुन्। तर विशेष महाधिवेशन सम्बन्धी निवेदन फिर्ता लिनुपर्ने सर्तका कारण तालिका मात्र ल्याउने महाधिवेशन नगर्ने मनसाय भएको भन्दै हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले आजै राजधानीमा भेला गर्दै छन् ।

विशेष महाधिवेशन पक्षधरका नेता देवराज चालिसेका अनुसार नियमित महाधिवेशन सम्पन्न गर्न समयको चाप परेकाले अब विशेष महाधिवेशनकै तयारीमा जानुपर्ने बताउँछन्।  सिङ्गो केन्द्रीय समितिको इच्छाशक्ति भएमा पुस मसान्तभित्र छोटो प्रक्रियाबाट अझै नियमित महाधिवेशन गर्न सकिने, तर त्यसका लागि संस्थापन पक्ष तयार नदेखिएकाले विशेष महाधिवेशनमै जानुपर्ने उनको तर्क छ।

चालिसेले अहिलेसम्म पार्टी सभापति र कार्यवाहक सभापति दुवैले औपचारिक रूपमा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई औपचारिक वार्तामा बोलाएर छलफल नगरेको बताए। उनले  पुस मसान्तको तालिका ल्याएर तत्कालको विवाद हल गर्न खोजे पनि महाधिवेशन भने तकली नियत  देखिएको बताए ।

चालिसेले भने, 'मसान्तभित्र महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशनको निवेदन त्यही महाधिवेशनबाट स्वतः निस्तेज हुन्छ, फिर्ता लिराख्नु पर्दैन । फिर्ता लिनुपर्छ भन्नुको अर्थ तालिका ल्याउने, तर महाधिवेशन नगर्ने नियत देखिन्छ छ यसलाई हामी स्विकार्दैनौँ।' 

कान्तिपुर संवाददाता

Link copied successfully