अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नमा चुनाव लड्ने

तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Ashok Rai, Resham Chaudhary and Rajendra Mahato's parties to contest elections under one symbol

काठमाडौँ — जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन निवेदन दिएका छन् ।

तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

एकल चुनाव चिह्न लिने निवेदन आयोगमा पेस गरेपछि जसपा अध्यक्ष अशोक राईले आफ्नो पार्टीको नेपाली कम्युनिस्ट पार्टीसँग एकता हुने सम्भावना नरहेको बताए । ‘नेपाली कम्युनिस्ट पार्टीमा एकता हुँदैन, टुंगो लागिसक्यो । हामी तीनवटा दल मिलेर एउटै चुनाव चिह्नमा चुनाव लड्दैछौँ । चुनावपछि कुनै कम्युनिस्ट पार्टीमा मिसिने हाम्रो सम्भावना छैन । जनता समाजवादी पार्टी समाजवादतर्फ अग्रसर हुने, संघीयतालाई आत्मसात गरेको पार्टीको रुपमा रहन्छ,' राईले भने, 'पुष्पकमल दाहाल (नेकपा संयोजक) सँग सके एकीकरण नसके चुनावी मोर्चा बनाएर जाऔँ भन्नेकुरा भएको हो । मैले निरन्तर एकीकरण सम्भव छैन, चुनावी मोर्चा गरेर जाऔँ भनेको थिएँ, चुनावी मोर्चा नबनाऔँ भन्नेमा टुंगो लागेपछि तीन वटा दल मिलेर चुनावी मोर्चा बनाएँ ।’

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको बताए । सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने उनको भनाइ थियो । 'टुट्ने-फुट्ने भनेको राजनीतिक संस्कार हो । सबैभन्दा ठूलो कुरा मुद्दा हो । मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो । देश रहेन भने केको अधिकारी ? केको थारु देश ठूलो कुरा हो,’ उनले भने ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताएका थिए । तीन दलएउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको उनले बताए । ‘मुख्य रुपले मूल्य, मान्यताको आधारमा एकीकृत भयो भने त्यो विभाजन कम हुन्छ । हाम्रो यो अहिले एकल चुनाव चिह्नमा तीन वटा दल जाने निर्णय गरेका छौँ । यो खास उद्देश्य र खास लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने निर्णय गरेका हौँ । देशमा अधिकार पहिचान, सुशासन, सभ्यता, संस्कृतिको सवालमा एकजुट हुनेछौँ,’ उनले भने ।

Ashok Rai, Resham Chaudhary and Rajendra Mahato's parties to contest elections under one symbol

कान्तिपुर

Link copied successfully